तालिबानको कब्जामा आर्थिक रुपमा महत्वपूर्ण उत्तरी शहर मजार–ए–शरीफ

तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका छन् ।

मजार–ए–शरीफलाई परम्परागत रुपमा तालिबान विरोधी शहरका रुपमा लिने गरिन्छ । सो शहर पनि कब्जामा लिनु तालिबानका लागि ठूलो सफलता ठानिएको छ ।

अमेरिकी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुगेसँगै तालिबानले ग्रामीण इलाका हुँदै शहरी क्षेत्रमा आफ्नो प्रभाव बढाएको छ ।

अफगान राष्ट्रपति अश्रफ घानी केही दिनअघि मात्रै मजार–ए–शरीफ शहरको भ्रमणमा गएका थिए । उनी सरकारी सुरक्षा बलको मनोबल बढाउनका लागि त्यहाँ गएका थिए ।

मजार–ए–शरीफ शहर । तस्बिर : इपिए

तालिबान बिद्रोहीले अहिले देशका अधिकांश क्षेत्रमा कब्जा गर्न सफल भएको छ । तालिबानका लडाकु अब राजधानी काबुल तर्फ अघि बढिरहेका छन् ।

पछिल्लो हिंसाका कारण साढे दुई लाख भन्दा बढी मानिस बिस्थापित भएका छन् । विस्थापित भएकाहरुमध्ये धेरै राजधानी काबुल तर्फ गएका छन् ।

हिंसाका कारण लाखौँ मानिस विस्थापित भएका छन् र उनीहरु खुला आकाश मुनि बस्न बाध्य भएका छन् । तस्बिर : गेट्टी इमेज

बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफ अफगानिस्तानको चौथो ठूलो शहर हो । सो शहर अधिकांश रुपमा बिना युद्ध तालिबानले कब्जा गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

अफगान आर्मीले पहिलो आत्मसमर्पण गरेको र त्यसपछि मात्रै सरकार पक्षधर सुरक्षा बल तथा सैन्य समूहले हात उठाएको बाल्कबाट प्रतिनिधित्व गर्ने सांसद अबास इब्राहिमजादाले एसोसिएटेड प्रेसलाई बताएका छन् ।

उज्वेकिस्तान र ताजिकिस्तानको सीमा नजिक रहेको मजार–ए–शरीफ प्रमुख आर्थिक केन्द्र हो । तालिबानले यो भन्दा पहिले सन् १९९० को दशकमा सो शहरमा नियन्त्रण कायम गरेका थिए ।

अमेरिका नेतृत्वको नेटो सैनिकले सन् २००१ देखिको सैन्य अभियान अफगानिस्तानमा समाप्त गर्दै छन् । अमेरिकी सैनिक यहि अगस्ट अन्तिमसम्ममा तथा अरु विदेश सैनिकहरु सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने छन् । विदेशी सैनिक फिर्ता हुन थालेसँगै तालिबानको प्रभाव बढेको हो ।