गाउँपालिकाका विद्रोही हस्ताक्षरकारी उपाध्यक्ष कमरेडलाई सानो सुझाव :पाण्डव र कौरव दुवैपक्ष द्रोणचार्यबाट शिक्षित थिए, ज्ञानको श्रोत एउटै थियो । महाभारतको युद्ध सुरुहुन पूर्व दुर्योधनलाई कृष्ण र उनका हजारौं सेना मध्य एक रोज्न भनियो उनले एक कृष्ण छोडेर कृष्णका असंख्य सेना रोजे । लडाइँ धेरै योद्धा भए जितिन्छ भन्ने दुर्योधनलाई भ्रम थियो । अर्जुनले जस्तै शिक्षा समान पाएका दुर्योधनलाई सेनाको संख्या धेरै भएपछि दुर्योधन ढुक्क थिए जित मेरो हुनेछ । युद्ध सुरुभयो, महाभारतको युद्व सत्यको लडाइँ थियो । युद्ध १८ दिनसम्म चल्छ । युद्धको उतारचढाव रोमाञ्चक छ । एकदिन युद्धमा पाण्डव हाबी हुन्छन्, अर्कोदिन कौरव । युद्धको ११ औं दिनमा कौरवको पक्षमा शक्तिशाली कर्ण थपिन्छन्, सोही दिन शकुनीले दुर्योधनलाई सल्लाह दिन्छन् यदि युधिष्ठिरलाई बन्दी बनायो भने युद्ध सकिन्छ र जितिन्छ, त्यही आग्रह दुर्योधनले द्रोणचार्यलाई गर्छन् ।
युद्वको १३ औं दिनमा चक्रव्यूह रचिन्छ । उक्त चक्रव्यूह अभिमन्यू तोड्न जान्दछन् तर निस्कन जान्दैनन् । चक्रव्यूहको ढोका जयद्रथले रोकेको कारण अभिमन्यू कौरव पक्षको सिकार हुन्छन् । १४ औं दिनमा जयद्रथ अर्जुनको हातबाट मारिन्छन्, अघिल्लो दिनको कुकर्म भोग्छन् । १५ औं दिन द्रोणाचार्यको टाउको काटेर कौरव पक्षले हत्या गर्छन् । १६ औं दिन कर्ण कौरव पक्षका सेनापती बन्छन् तर विडम्बना यही दिन कौरव पक्षका दुशासन मारिन्छन् । १७ औं दिन सेनापती कर्णको रथको पांग्रा धर्तीमा भाँसिन्छ त्यो निकाल्न भुँइमा झरेको बेला अर्जुनको निशानाका सिकार हुन्छन् । युद्धको अन्तिम दिन अर्थात् १८ औं दिन दूर्योधनका बाँचेका सबै भाइलाई पाण्डव पक्षका भीमले मार्दिन्छन् । युद्ध नजित्ने ठानेर दूर्योधन पोखरीमा गएर लुक्छन् तर भीमले थाहा पाएर तिघ्रामा निशाना दाग्छन र दूर्योधनको सिकार गर्छन् र युद्व जित्छन् । पाण्डवका सेना थोरै थिए ।
कौरवका सेना धेरै मात्र थिएनन् उनका पक्षमा शक्तिशाली सेनापती कर्ण थिए तरपनि युद्ध हारे किनकी त्यो सत्यको युद्ध थियो । द्रोणचार्यबाट पाण्डव र कौरव दुवैले समान शिक्षा पाएका थिए उस्तै युद्ध कौशल जानेका थिए । तर युद्धमा विजयी पाण्डव भए किन थाहा छ उपाध्यक्षज्यू, त्यो युद्धमा पाण्डवका पक्षमा सल्लाह दिने कृष्ण थिए कौरवको पक्षमा षड्यन्त्रकारी शकुनी थिए । शकुनीलाई षडयन्त्र बाहेक केही आउँदैन थियो युधिष्ठीरलाई बन्दी बनाउने उपाय त्यही षड्यन्त्रको उपज थियो । शिक्षा उस्तै पाएपनि सल्लाह गलत लियो भने सत्यका युद्ध हारिन्छ भन्ने उदाहरण हो महाभारत युद्व । अझै केही बिग्रेको छैन तिनपाटन बनाउनुछ त्यो आपसी द्वन्दबाट होइन आपसी सहकार्य र एकताबाट सम्भव छ । खुइल्याउने र भित्तामा पुर्याउने राजनीति गर्ने हो भने तपाइँलाई खुइल्याउन छिनभर पनि लाग्दैन तर त्यो कु-संस्कारले जित्नुहुँदैन, हार्नुपर्छ । जनता जनार्दन हुन्, एक-अर्काको स्वार्थ पूरा गर्न जनतालाई चक्रव्यूहको अभिमन्यू बनाउने अधिकार कुनै जनप्रतिनिधिलाई छैन्, हेक्का रहोस् ।
(यो सामाग्री कांग्रेस नेता मुकेश घिमिरेको फेसवुक वालबाट साभार गरिएको हो ।)