अझै कार्यकाल थप्ने योजना नबनाउन सभापति देउवालाई चेतावनी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि बसिरहेको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बिहीवारदेखि सुरु भएको बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल भइरहेको छ।

शुक्रवारको बैठकमा पनि केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीको १४ महाधिवेशनको कार्यतालिका परिमार्जनको सम्बन्धमा धारणा राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। शुक्रवारको बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, धनराज गुरुङ, मिनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्याम कुमार घिमिरे, रामकृष्ण यादव, किरण शर्मा पौडेल, उमाकान्त चौधरीले धारणा राखेका छन्। आरणा राख्ने सबै केन्द्रीय सदस्यले जतिसक्यो छिटो महाधिवशेनमा जानुपर्ने माग गरेका छन्।

कांग्रेसको वैधानिकतामाथि नै प्रश्न उठ्ने गरी महाधिवेशन प्रभावित पार्न नहुने उनीहरुको भनाइ छ। डा. कोइरालाले दुई वर्षपछि महाधिवेशन गर्ने विषयमा छलफल हुन थालेको भन्दै त्यसप्रति आपत्ति जनाए।

उनले भने, ‘अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरुबाट बिषेश महाधिवेशन अथवा यहि कार्यसमितिलाई डेढ दुई बर्ष समय थप्ने कुरा सुनिदैछ । कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन्। पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन।’

बैठकले १४ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका ल्याउने शर्माको दाबी छ। बैठकमा सरकार सञ्चालन र समसामयिक राजनीति पनि केन्द्रीय सदस्यहरुले बोलेका छन्।

प्रवक्ता शर्माले भने, ‘राष्ट्रिय राजनीतिलाई सही ढंगले सम्पादन गरेर अगाडी जानुपर्ने कार्यभार एकातर्फ छ राष्ट्रिय राजनीतिको। अर्कोतर्फ, नेपाली कांग्रेस पार्टीको महाधिवेशन सम्पन्न गर्दै संगठनलाई सुदृढ बनाएर जाने घरेलु कार्यभार छ। यो दुइवटै कार्यभारको सम्बन्धमा बैठकमा भइरहेको छलफलपछि हामी निष्कर्षमा पुग्नेछौँ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ प्रवक्ता शर्माले वर्तमान सरकारको एक पिल्लर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलता रहेको उल्लेख गर्दै नेपाल पक्ष एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बताए।

उनले भने, ‘यो सरकार बन्दै गर्दा चारवटा पिल्लर खडा छ। त्यसमध्येको एउटा पिल्लर माधव नेपालले नेतृत्व गर्नुभएको एमालेको छ। उहाँहरुको आन्तरिक घरायसी जीवनको सन्दर्भमा केही जटिलताहरु रहेको बेलामा उहाँहरु एउटा टुंगोमा पुगिसकेपछि स्वाभाविक छ कि सरकार गठनको पूर्णताको प्रक्रियाले मार्ग प्रशस्त प्राप्त गर्छ।’

बैठकमा केन्द्रीय निर्वाचन समितिबाट प्रस्तावित भएर आएको निर्वाचन निर्देशिकामाथि पनि छलफल चलिरहेको उनले बताए।

अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरुबाट बिषेश महाधिवेशन अथवा यहि कार्यसमितिलाई डेढ दुई बर्ष समय थप्ने कुरा सुनिदैछ । कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन् । पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन ।