नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) १६ बर्ष पहिला हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । २०६२ साल पुस ६ गते कलंकी कलंकीको लामपाटीस्थित आफ्नै डेरामा जिउँदै आगो लगाएर एक महिलाको हत्या गरी फरार रहेका अभियुक्तलाई बुधवार (साउन २७ गते) सिआइवीको टोलीले पक्राउ गरेको हो ।
सिआइवीका प्रमुख डिआइजी धिरजप्रताप सिंहले पुरानो फाइल खोल्दै जाँदा काभ्रेपलाञ्चोक फुलबारी घर भई कलंकी बस्दै आएकी २८ वर्षीय भगवती लामा अधिकारी हत्याको फाइल फेला पर्यो । त्यो फाइल अध्ययन गर्दै जाँदा डिआइजी सिंहसहित सिआइवीका उच्च अधिकारीको आँखा एउटा फोटोमा गएर अडकियो । त्यही १६ बर्षअघिको फोटोको आधारमा सिआइवीको टोलीले भगवतीलाई मध्यराती जिउँदै जलाएर भाग्ने रामेछापको माकादुङ गाउँ घर भई हाल गहबहादुर खत्री उर्फ शिवजी खत्रीसम्म पुग्न सफल भएको हो । अभियुक्त खत्रीलाई सिआइवीले ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाङ्गाथलीबाट खत्रीलाई बुधवार पक्राउ गरेको हो ।
सिआइवी प्रमुख सिंहले दिनुभएको जानकारी अनुसार अनुसार २०६२ पुस ६ गते मध्यराती २ः३० बजे भगवतीलाई कोठामै जिउदै जलाइएको थियो । उनको भोलिपल्ट बीर अस्पतालमा मृत्यु भयो । सो घटनाबारे मृतकका पिता ईन्द्रबहादुर अधिकारीले त्यसबेला दिनुभएको जाहेरीको आधारमा अनुसन्धान अघि बढाउँदा एउटा क्लू फेला परेपछि अभियुक्तसम्म पुग्न प्रहरी सफल भयो । डिआइजी सिंहका अनुसार यही साउन महिनाको पहिलो साता काठमाडौंको महाराजगञ्जमा एउटा घटना भयो । सो घटनापछि सिआइवीका उच्च अधिकारीहरु पुरानो फाइल खोतल्ने निर्णयमा पुगे । ब्युरो प्रमुख सिंहले पुरानो फायल खोज्न भनेपछि एसपी कमल थापासहितका अधिकारीको ध्यान कलंकीको त्यो १६ बर्ष पुरानो हत्याकाण्डको फायलमा गयो । त्यसपछि अनुसन्धान अघि बढाइएको हो । अनुसन्धान अघि बढेको केही समयभित्रै एउटा फोटोको आधारमा प्रहरी अभियुक्तसम्म पुग्यो ।

डिआइजी सिंहका अनुसार त्यसबेला भगवतीको कोठामा भेटिएका सानाभन्दा साना सामानको सुक्ष्म विष्लेशण गर्दा एल्बममा रहेका सवै फोटो जाँच गरियो । फोटोमा देखिने हरेक व्यक्तिको पहिचान खोजियो । त्यस क्रममा एउटा फोटोमा भएको व्यक्तिको पहिचान हुन सकेन । पहिचान नखुल्ने खत्री भगवतीका नातागोताका थिएनन भन्ने कुरा आफन्तबाट प्रमाणित भयो । त्यसपछि फोटोमा भएको व्यक्ति खोजी गर्दै भगवतीको हत्या भएका बेलाका घरभेटी उपेन्द्र रायमाझीसम्म प्रहरी पुग्यो । भगवतीको कोठामा आइरहने खत्रीको पहिचान रायमाझीले सहजै गरिदिनुभयो । त्यसपछि भगवतीका छोराछोरीले पनि ती व्यक्तिको पहिचान गरे । फोटो पहिचानपछि खोजी अघि बढाएको सिआइवीको टोलीले बुधवार ललितपुरको महालक्ष्मी नगरपालिका चाङगाथलीमा खत्रीलाई फेला पारे ।
प्रहरीका अनुसार सुरुमा खत्रीले भगवतीसँग भएको फोटोको व्यक्ति आफू नभएको भन्दै इन्कार गरे । तर सत्य छुपाउन सकेनन, अन्ततः आफै भगवतीको हत्यारा भएको तथ्य प्रहरी सामू खोल्न बाध्य भए । यसरी डिआइजी सिंहको नजर परेको फोटोले १६ बर्षअघि मध्यराती जिउँदै जलाएर हत्या गर्ने खत्री समातिएका छन । उनलाई सिआइवीले आज महानगरीय प्रहरी बृत्त कालीमाटी पठाएको छ ।