सिन्धुलीको तीनपाटन गाउँपालिकाले प्रशासनिक भवन निर्माणमा ठेकेदार पक्षलाई थप रकम बिनियोजन गर्नै नाममा पालिका सदस्यहरुले सहमति नदिएपछि रोकिएको कार्यपालिका बैठकनैं बस्न नसकेको विषयमा प्रकाशित समाचारवारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष कर्णवहादुर थापा मगरले भनेकाछन्ः ठेकेदार कम्पनी एएम पाइनस जेभिसँग २०७६ माघ ९ गते ४ करोड ८२ लाख ८ हजार २६० रुपैयाँ ५० पैसामा २०७९ साल असार २५ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो । उक्त भवन निर्माणको क्रममा ड्रइङ डिजाइनमा उल्लेख भएको तर लागत इष्टिमेटमा आरसीसी ढलान, पिल्लर, फर्मा, डण्डीलगायतको परिमाणमा कमी भएकाले गाउँपालिकाले भेरियसन गरेको दाबी गरेकाछन् । गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७७ को नियम १२७ (१) बामोजिम कुल लागतको १५ प्रतिशत गाउँपालिका अध्यक्षले ठेकेदार पक्षलाई थप रकम निकासा दिन सक्ने प्रावधानअनुसार नै स्वीकृत गरिएको दावी उनले गरेकाछन्। ‘गाउँकार्यपालिकाले सर्वसम्मत रुपमा पास गरेको सोही नियमावलीको प्रावधान अनुसार गाउँसभाबाट निर्णय गरी प्राविधिक नापजाँच तथा मूल्यांकनका आधारमा गत वर्षको चैत ४ गते ७१ लाख ५१ हजार १८७ रुपैयाँ भेरियस आदेश स्वीकृत गरिएको हो,’ बिज्ञप्तीमा उल्लेख गरेका छन् । नियमावलीमा रहेको प्रावधानअनुसार भेरियसन रकमसमेत स्वीकृत गरी हालसम्म गाउँपालिका भवनको जम्मा लागत ५ करोड ५३ लाख ५९ हजार ४४७ रूपैयाँ हुन आएको गाउँपालिकाले जनाएको छ । यस अघि पालिकाले ठेकेदार पक्षसँग ४ करोड ८२ लाख ८ हजार २ सय साठी रुपैयाँ २६ पैसामा ठेक्का संझौता गरेको थियो भने पालिका भवनको निर्माणका काम स्थानीय स्तरमा पालिका अध्यक्ष थापाको आफ्नै भाईले गरिरहेका छन् । अध्यक्षले जारी गरेको बिज्ञप्तीमा अगाडि लेखिएको छः हालसम्म संघीय समपूरक कोष तथा गाउँपालिकाको स्वीकृत बजेटबाट कार्यसम्पादन मूल्यांकन बमोजिम ३ करोड २३ लाख ९९ हजार १४२ भुक्तानी भइसकेको छ । ‘चालु आर्थिक वर्षको लागि संघीय सरकारबाट ६९ लाख रूपैयाँ बजेट प्राप्त भएको छ,’ उनले लेखेकाछन्, ‘२०७९ असार २५ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने भएकाले नपुग एक करोड ६० लाख ६० हजार रूपैयाँ गाउँपालिकाले विनियोजन गर्नुपर्ने प्रस्ताव गाउँकार्यपालिकामा रहेको विषयमा अनावश्यक हल्ला फैलाइएको छ ।’
रकम बिनियोजन गर्ने बैठकमा अध्यक्ष मगरले भवन निर्माणमा १ करोड ६० लाख रकम अपुग हुने भन्दै छुट्याउने प्रस्ताव गरेपछि बहुमत पालिका सदस्यहरुले सो प्रस्तावलाई अस्वीकार गरेका थिए । हामी कुनै पनि हालतमा थप रकम दिन सक्तैनौं भनेर सदस्यहरुले अडान लिएपछि अहिलेसम्म तीनपाटन गाउँपालिकाको विकास योजना र रकम पारित भएका छैनन् ।
गाउँपालिकाको भवन निर्माणका क्रममा गुणस्तरहिन सामाग्री प्रयोग भयो भन्दै उपाध्यक्ष पदममायाँ तामांगलगायत पालिका सदस्यहरुले पटक पटक अध्यक्ष मगरलाई सचेत गराउँदा पनि सो क्रम नरोकिएको र अहिले ठेकेदारका नाममा थप ठेढ करोड रुपैयाँ निकासा गर्न खोजिएपछि त्यसको चर्को आलोचना भएको हो ।
निर्माण कम्पनीका तर्फबाट हामीलाई ठेक्का संझौता अनुसारको काम सकेर जिम्मा नलगाई कसरी भवन निर्माणमा घाटा लाग्यो भनेर विश्वास गर्ने ? पहिला त भवन जिम्मा लगाउनु पर्यो, नपुग भएको भए आवेदन गर्नुपर्यो ती सबै काम नभई कानून भन्दा बाहिर गएर कसरी जनताले तिरेको करबाट डेढ करोड रुपैयाँ छुट्याउन मिल्छ ? पालिका उपाध्यक्षको भनाई थियो ।
स्मरणीय छ निर्माणको जिम्मा लिएको एएम पाइनसजेभीका भरत कार्कीले तीनपाटन गाउँपालिकाको भवन निर्माण संझौता अनुसार काम गर्दा घाटा लागेको भनेर रकम माग नगरेको बताइसकेका छन् । यस्तो अबस्थामा पालिका अध्यक्ष मगरले ठेकेदारका नाममा थप रकम दिनकालगि कार्यपालिका सदस्यहरु माथि दबाब सिर्जना गरेपछि सर्व साधारण नागरिकहरु चकित परेकाछन् ।

यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ छापेको छ ।