पछिल्लो एक सातामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ह्वात्तै बढपछि पोखराका अस्पताल फेरि भरिभराउ हुन थालेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरुवा तथा संक्रामक रोग अस्पतालमा संक्रमितले वेड नपाउने अवस्था आएको छ । पछिल्लो साता संक्रमितको संख्या नपत्याउँदो गरी बढेकाले आईसीयूमा भर्ना हुन आएका संक्रमितले पालो कुर्नुपर्ने अवस्था आएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बराल बताउँछन् ।
अस्पतालमा कोभिड-१९ का बिरामीका लागि ८० बेड छुट्याइएको छ । तर सबै बेडमा बिरामी छन् । ‘पालो कुरेर पनि उपचार नपाउने स्थिति आइसक्यो,’ डा. बराल भन्छन्, ‘गम्भीर प्रकृतिका बिरामी धेरै छन् । बेलैमा ध्यान नदिए झन् स्थिति भयावह बन्छ ।’
उस्तै छ संक्रामक अस्पतालको हालत
सरुवा तथा संक्रामक रोग अस्पतालको आइसोलेसन वार्ड पनि कोभिड-१९ का बिरामीले भरिएका छन् ।
प्रदेश सरकारले कोभिड अस्पतालका रुपमा तोकेको यो अस्पतालमा ५० बेड छ, तर सबैजसो बेड भरिएको अस्पतालका निर्देशक विकास गौचन बताउँछन् ।
उनका अनुसार हाल ४७ जना संक्रमित उपचाररत छन् । ‘५० बेडको भनिए पनि १/२ बेड खाली नै राख्नुपर्ने हुन्छ । कुनै बेडमा अक्सिजन नचल्नेलगायतको समस्या आउनसक्छ,’ उनले भने, ‘यसरी हेर्दा अस्पताल संक्रमितले भरिएकै हो ।’
डा. गौचनका अनुसार उपचाररत संक्रमितहरु प्रायः गम्भीर प्रकृतिका छन् । अघिल्लो पटकभन्दा यस पटक गम्भीर बिरामीको संख्या धेरै भएको उनले जानकारी दिए । ‘प्रायः सबैजना अक्सिजन दिनुपर्ने अवस्थामा हुनुहुन्छ । गम्भीर बिरामी धेरै आएका छन्,’ उनले भने ।
कास्कीमा जिल्ला प्रशासन कार्यालयले असार १४ गते निषेधाज्ञा खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको थियो ।
त्यसबेला कास्की जिल्लाभर सक्रिय संक्रमितको संख्या जम्मा ५ सय ३२ थियो । निषेधाज्ञा खुकुलो भएको एक महिनामै सक्रिय संक्रमितको संख्या झन्डै ४ गुणाले बढेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयक अनुसार मंगलबारसम्म कास्कीमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार १९ पुगेको छ ।
निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो एक हप्तामा संक्रमितसँगै मृतकको संख्या पनि बढेको छ । एक हप्ताको अवधिमा कास्कीमा मात्र २३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा मंगलबारमात्रै ८ ज्यान जना संक्रमितले ज्यान गुमाएका छन्, जसमध्ये ४ जना कास्कीका छन् ।











