राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो।
शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेटसम्म उहाँहरुबीच छलफल भएको शीतल निवास स्रोतले जनाएको छ । भेटका क्रममा एमाले भित्रको विवाद तथा समसामाहिक विषयमा छलफल भएको जनाएको छ। रावल पछिल्लो समय एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएको चर्चा राजनीतिक वृत्तमा रहेका बेला राष्ट्रपति भण्डारीसँग उहाँको भेटवार्तालाई चासोको रुपमा हेरिएको छ ।
त्यस्तै नेकपा एमालेको आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित गरेको छ। अध्यक्ष केपी ओलीद्वारा विधान अधिवेशनको तयारीका लागि भन्दै आज बिहान ११ बजेका लागि डाकिएको बैठक स्थगित गरेको हो। यो बैठक नेकपा एमालेभित्रको केपी ओली र माधव नेपाल दुबै पक्षका लागि निर्णायक मानिएको थियो। बैठक सोमबार अपराह्न ३ बजे बस्ने भएको छ। यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने ओली पक्षको आजको बैठकका आधारमा आफ्ना निर्णय अघि बढाउने संकेत दिएको थियो ।