भीम रावल जंगिएपछि सरकारमा सहभागी हुने नेता नेपालको योजनामा धक्का

नेकपा एमालेका ‘बरिष्ठ नेता’ माधवकुमार नेपालको योजनामा धक्का लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने योजनाका साथ आज बोलाउनु भएको आफू निकट स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलसहितका अधिकांश नेता एकताको बिकल्प नभएको निश्कर्षसहित प्रस्तुत हुनुभएपछि माधवको योजनामा धक्का लागेको हो ।

आजको बैठकमा उपाध्यक्ष रावलले निर्णायक हस्तक्षेप गर्नुभएको छ भने कार्यदलमा रहेका नेतासहित सवैजसो स्थायी कमिटी सदस्यले उहाँलाई साथ दिनुभएको छ । ‘माधव कमरेड एमालेमा नफर्कने मुडका साथ यो बैठक बोलाउनु भएको कुरा उहाँकै भनाईले देखायो तर भीम रावल जंगिएपछि माहोल एकाएक अर्काेतिर मोडिएको छ, तत्कालै नयाँ पार्टी खोलेर देउवा सरकारमा जानुपर्ने र एमाले अध्यक्ष केपी ओलीलाई अध्यक्ष मानेर एमालेमा फर्कन हुन्न भन्नेहरु पनि निकै नरम रुपमा प्रस्तुत भए,’ बैठकको दृष्य सुनाउँदै सहभागी एक नेताले भने । ती नेताका अनुसार स्थायी कमिटी र केन्द्रीय कमिटीमा माधव समुहका तर्फबाट बिघटित कार्यदलको नेतृत्वकर्तासमेत रहनुभएका उपाध्यक्ष रावलले १० बुँदेको आधारमा सहमति नै एक मात्र बिकल्प भएको भन्दै आफ्नो अतृप्त चाहना र कुण्ठालाई कसैले पनि अघि सार्न नहुने बताउनु भएको थियो ।

‘१० बुँदे मान्दिन भन्नेहरु को हुन ? किन नमान्ने ? दश बुँदे सहमति नै पार्टी एकताको आधार हो, यो मान्दिन भन्नेहरु कम्युनिष्ट होइनन,’ बैठकमा रावलको भनाई उधृत गर्दै ती नेताले बताए । आजको केन्द्रीय कमिटी बैठकमा माधवले आफ्नो धारणा राखेपछि उपाध्यक्ष रावलले १० बुँदे सहमतिबारे सबिस्तार चर्चा गर्नुभएको अर्का नेताले बताए । रावलकै अडानका कारण नेपालले आजको बैठकमा बिगतको जसरी अन्टसन्ट नबोलेको ती नेताको भनाई छ । आफ्नो समुहमा एक तिहाइको पनि साथ नपाउने देखेपछि नेपालले पार्टी एकताका लागि अहिले पनि वार्ता जारी रहेको भन्दै आफू एकताबद्ध एमालेको पक्षमा रहेको प्रष्टिकरण दिनुभएको छ ।

बैठकको अध्यक्षता गर्नुभएका नेपालले विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने बताउन भने छाडनु भएन । तर नेपाल भन्दा पछि बोल्नुभएका रावलले १० बुँदेको ब्याख्या गर्दै एकताको बिश्वासिलो आधार नै सोही सहमति भएको प्रष्ट धारणा राख्नुभएको छ । रावलले १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको भन्दै यसलाई सामान्यरूपमा नलिन आग्रह गर्नुभएको छ । अध्यक्ष केपी ओलीलाई जेठ २ मा फर्काउन १० बुँदे गरिएको भन्दै रावलले यसमा टेकेर नै पार्टी अघि बढनु पर्ने र विभाजनतिर जान नहुने बताउनु भएको थियो ।

बैठकमा रावलले जेठ २ को केन्द्रीय कमिटी बैठक बसेपछिमात्र संगठित सदस्यता नवीकरणलगायतका कार्य अघि बढाउन आफूले कार्यदलका नेताहरू र महासचिव ईश्वर पोखरेललाई आग्रह गरेको जानकारी दिनुभएको थियो । बैठक शुक्रवार पनि जारी रहने सो समुहले जनाएको छ ।