अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन भारत भ्रमणमा रहेका बेला तालिबान नेता मुल्ला बरादर चीनको भ्रमणमा छन् ।
ब्लिंकेनले अफगानिस्तानको सुरक्षा, क्षेत्रीय स्थिरता तथा विकासलाई लिएर भारतीय समकक्षीसँग वार्ता गरेका बेला तालिबान नेता मुल्ला बरादरले चिनियाँ विदेश मन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका हुन् ।
हाल अफगानिस्तानमा चीनले कुनै पनि प्रकारको लगानी गरेको छैन । तर भविष्यमा हुन सक्ने लगानी वा चीनको महत्वपूर्ण भूमिकालाई यो भेटले संकेत गर्ने देखिएको छ ।
चीनले अफगानिस्तानलाई स्थिर देशका रुपमा स्थापित गर्नका लागि लगानी वा सहयोग गरेमा त्यसबाट चिन्तित हुनु पर्ने अवस्था नरहेको विश्लेषक बताउँछन् ।
तर अमेरिकाले आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता लैजाँदै गर्दा चीनका नेतासँग तालिबान नेताको भेटलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । चीनका विदेश मन्त्री वाङ्ग यीले तालिबानलाई अफगानिस्तानको ‘प्रमुख सैन्य तथा राजनीतिक शक्ति’ भनेका छन् ।
चीनको विदेश मन्त्रालयले बुधबार जारी गरेको वक्तव्यमा विदेश मन्त्री यीले तालिबान नेतासँग राजनीतिक समूह र आतंककारी संस्थाबिचको स्पष्ट रेखा कोर्न आग्रह गरेको उल्लेख गरिएको छ ।