कांग्रेस सभापतिमा आकांक्षीनैं आकांक्षी

आउँदो महाधिवेशनमा संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेद्वार बनाउन आकांक्षी नेताहरुको बैठक सुरु भएको छ।

बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा नेता अर्जुन नरसिंहकेसीको संयोजनमा सभापति देउवा इतर समूहका सभापतिको एउटै उम्मेद्वार बनाउन छलफलमा जुटेका हुन्। छलफलमा सभापतिको दाबी गरिरहेका आठजना नेताहरुको उपस्थिति रहेको छ।

बैठकमा केसीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, डा. शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर राई सहभागी छन्।

राईले भने अहिलेसम्म सभापति उठ्नेबारे सार्वजनिक रुपमा घोषणा गरेका छैनन्। यसपटक देउवाको हातबाट जसरी पनि कांग्रेसको नेतृत्व फुत्काउनु पर्नेमा सबै नेता सहमत भए पनि एकले अर्कालाई अस्वीकार गर्न सकेका छैनन्।

अघिल्लोपटक पौडेललाई सहयोग गरेका कोइराला परिवार, नेता सिंह नै यसपटक आफैँ सभापतिको उम्मेद्वार बन्ने आकांक्षा राखिरहेका छन्। कोइराला परिवारका तीनै जना नेताले सभापतिमा उठ्ने तयारी अघि बढाएका छन्।

नेता शेखर कोइरालाई लामो समयदेखि सभापतिमा उठ्ने तयारी गरे पनि संशाक कोइरालाले देउवालाई पराजित गर्न सक्ने एक मात्र उम्मेद्वार आफू मात्रै भएकाले सबैले सहयोग गर्नुपर्ने बताइरहेका छन्।

पौडेलले पनि अहिलेसम्म आफूले पार्टीमा नेतृत्व गर्ने अवसर नपाएकाले एकपटक पाउनुपर्ने जिकिर आफ्नै समूहभित्र गरिरहेका छन्। संस्थापन समूहमा भने अहिलेसम्म देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्ने घोषणा गरेका छन्।

कांग्रेसको १४औँ आउँदो भदौ १६ देखि १९ गतेसम्म हुँदैछ।