प्रतिनिधिसभा विघटनविरुद्ध दर्जन बढी रिट सर्वोच्चमा, २ बजेपछि हुँदै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ बजेसम्म १३ वटा रिट पेश भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते विहान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ लाई मध्यावधि निर्वाचन तोकेकी थिइन्।

यस विरुद्ध सर्वोच्चमा १३ वटा रिट पेस भएको छ। अदालत प्रशासनका अनुसार पेस भएका १३ वटा रिट निवेदनका फाइललाई क्वारेन्टाइन गरिएको छ। दिउँसो २ बजेपछि अध्ययन गरेर दर्ता प्रक्रियामा जानेछ।

तीमध्येको एउटा रिटका निवेदक अधिवक्ता सन्तोष भण्डारीले अदालत प्रशासनले दुई बजेपछि सम्पर्क गर्न भनेको बताए। ‘दुई बजेपछि सम्पर्क गर्न भन्नुभएको छ। १३ वटा रिट निवेदन फाइल क्वारेन्टाइनमा राखेको छ। घाममा सुकाएर राखेको छ। रिटहरु बढ्ने क्रम जारी छ,’ उनले भने।

भण्डारीले आफ्नो रिटमा संविधान मिचेर गरिएको प्रतिनिधिसभा विघटन बदर गर्नुपर्ने, अहिलेको प्रधानमन्त्री र मन्त्रिपरिषद्ले कुनै पनि कामकारवाही नगर्न/नगराउन अन्तरिम आदेश दिनुपर्ने र शेरबहादुर देउवालाई अवसर दिनुपर्ने माग गरेका छन्।