धारा ७६ (२) को अनुसार सरकार बनाउन कांग्रेस सभापति देउवाको प्रस्तावमा प्रचण्डको समर्थन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब संविधानको धारा ७६ (२) को अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा समर्थन गरेका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिन बोलाइएको प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकाले अब संविधानअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढाउन माग गरेका थिए।

संविधानको धारा ७६ मा सरकार गठनसम्बन्धी व्यवस्था छ। उक्त धाराको उपधारा २मा संसदका दुई वा दुईभन्दा बढी दलले बहुमतको सरकार बनाउन सक्ने व्यवस्था छ।

देउवापछि बोलेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही संसदबाट नयाँ सरकार बन्ने सम्भावना भएकाले आफू देउवाको प्रस्तावमा समर्थन रहेको बताए। उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न पनि सुझाव दिएका छन्।  

संसद बैठक सुरू हुनुअघि सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाउने र त्यसपछि आफूहरूले बहुमतको सरकार बनाउने समझदारी गरेका थिए।