कुपोषणबाट पिडित हरिहरपुरगढी गाउँपालिकाका ८ वर्षीय एक वालकको शुक्रवार सिन्धुली अस्पतालमा निधन भएपछि उक्त शब व्यवस्थापनमैं समस्या देखिएको छ । शव व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले स्थान अभावमा कोरोना संक्रमित मृतकहरुको शव व्यवस्थापन गर्न नसकेको हो । सेनाले मृतकको शबलाई सिन्धुली अस्पतालबाट उठाएर आगो लगाई सद्गद गर्ने तयारी गरेपनि स्थानीयको दबाबपछि नेपाली सेना पछाडि हटेको थियो ।
गडौली दोभानमा स्थानीयले नदिने भएपछि जुन स्थानीय निकायको व्यक्ति हो सोही स्थानीय तहमा शब पठाउने निर्णय त स्थानीय प्रशासनले ग¥यो तर उक्त शबलाई हरिहरपुरगढी पठाउन उसलाई हम्मेहम्मेनैं भयो । अस्पतालबाट शब उठाउनका लागि सवारी साधन खोज्न प्रमुख जिल्ला अधिकारी शुरेश न्यौपानेलाई निकै कठिन भयो । सबै सरकारी कार्यालयमा रहेका सवारी साधन मागियो तर, कसैले पनि सो कार्यका लागि सहयोग गरेनन् । नत नेपाली सेना आफैंले आफ्नो गाडीनैं प्रयोगमा ल्यायो । वालकको शबलाई व्यवस्थापन गर्ने नाममा झण्डै ४ घण्टा सरोकारवाला निकाय बीच निकै लामो सम्वाद चलिरह्यो । तर कमलामाई नगरपालिका क्षेत्रमा कतै पनि गाड्ने ठाउँ मिलेन । त्यस बीचमा प्रमुख जिल्ला अधिकारी शुरेश न्यौपाने र एसपीलाई माननीयहरुको दबाब मूलक फोन भने आइरहेका थिए ।
साँझ ५ बजेतिर वालकको शवलाई शव बहान (एम्बुलेन्स)ले मार्फत उनकै गाउँमा पठाईयो, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र साहले प्रदेशखवरसँग भने । यता प्रमुख जिल्ला अधिकारीको आदेशपछि जिल्ला भवन प्रविधी कार्यालयको गाडि माननीय र सैनिक अधिकारी लिएर गाउँतर्फ लागेको थियो, तर त्यो गाडी बीचमै बिग्रियो । जवकी जिल्ला जनस्वास्थ्य कार्यालयमैं २ वडा गाडी स्ट्याण्डवाई थिए भने अन्य सरकारी कार्यालयका गाडीहरु पनि कार्यालय परिसरमैं थिए । तर कोरोना लागेको शव बोक्न भनेपछि सबै त्रसित बनेका थिए ।
समन्वयको अभाव !
सिन्धुली जिल्लालाई कोभिड संक्रमणबाट बचाउन भन्दै अघिल्लो आर्थिक वर्षमैं संक्रामक रोग नियन्त्रण समिति छ र त्यसको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुने प्रचलन छ । अघिल्लो वर्षनैं भीमानको चुरे जंगल क्षेत्रमा शब व्यवस्थापनका लागि स्थान छनोट गरिएपनि स्थानीयको विरोधपछि नेपाली सेनाले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेन । स्थानीय प्रशासन र सेनाले अघिल्लो आर्थिक वर्षमा शब व्यवस्थापनका लागि माइस्थान र गडौली खोला दोभान प्रयोग गर्ने प्रयत्न गरिएपनि स्थानीयले अबरोध सिर्जना गरेपछि नेपाली सेनाले पनि शब व्यवस्थापनमा सास्ती खेपेको थियो । सेना, प्रहरी र स्थानीय प्रशासनकै बीचमा आन्तरिक सहमति नहुनु र राजनैतिक दलका नेताहरुले लासमाथिको राजनीति गरिदिंदा अहिले कठोर अबस्थाको सिर्जना भएको बताइन्छ । शब व्यवस्थापनका लागि स्थान छनोट गरिएपनि अर्को पक्षले त्यसलाई अस्वीकारगर्दै अगाडि बढ्दा थप जटिलता थपिएको हो । नेपाली सेनाका एक अधिकारी भन्छन्ः राजनैतिक नेताहरुले लासमाथि राजनीति गर्दा अहिले समस्या सिर्जना भएको हो । सेनाले अघिल्ला २ वटा बैठकमैं सब व्यवस्थापन गर्ने स्थानको टुंगो लगाउन प्रस्ताव गरेको थियो । तर त्यसलाई कसैले पनि गंभीर रुपमा लिएका थिएनन् तर शुक्रवार व्यवस्थापनको जुन समस्या देखियो त्यो हामीले पहिल्यै आँकलन गरिसकेका थियौं, ती अधिकारीले भने ।
गैर जिम्मेवार गाउँपालिका !
आफ्नो पालिका क्षेत्रका नागरिकको मृत्यु भएको खबर मध्यान्हमैं पाइसकेका हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कर्साङ लामाले कुनै पनि चासो देखाएनन् । कमलामाई नगरपालिका क्षेत्रमा मृत वालकको शब व्यवस्थापन गर्न समस्या देखिएपछि अध्यक्ष लामालाई आफ्नो नागरिकको व्यवस्थापनको जिम्मेवारी तपाईकै हो भन्दै अस्पतालबाट मात्रै होइन, स्थानीय प्रशासन र सुरक्षा निकायले पटक पटक फोन सम्पर्क गरे । तर उनले कुनै जवाफ दिएनन् बरु उल्टै अस्पताल आफैंले व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने जवाफ आयो ।
एक स्थानीय भन्छन्ः नागरिककै करबाट गाडी चढेका उनले वालकको शब उठाउनका लागि आफ्नै गाडी पनि पठाउन सक्थे तर, उनले त्यसो गरेनन् । नत उपाध्यक्षलेनैं गाडी पठाउन सकिन् । यो उनीहरुको नागरिक प्रतिको गैर जिम्मेवार कार्य हो । आफ्ना नागरिकलाई संकटबाट जोगाउन र सहयोग गर्न गाउँपालिका अध्यक्ष र उपाध्यक्ष असफल बनेकाछन्ः उनीहरुले अगाडि भनेकाछन् ।
सबै जिम्मेवार बन्न जरुरी !
सिन्धुली अस्पतालमा वालकको शब व्यवस्थापन र त्यस स्ँग जोडिएर प्रमुख जिल्ला अधिकारीले एउटा सवारी साधन खोज्दा नपाउने अबस्था आउनुलाई कदापी राम्रो मान्न सकिन्न । प्रमुख जिल्ला अधिकारीले गाडीको खोजी गर्न आफु मातहतको निकायलाई आदेश दिंदा जिल्ला जनस्वास्थ्य कार्यालय परिसरमा २ वडा गाडीहरु थिए । जिल्ला प्रशासन कार्यालयमैं एउटा गाडि थियो भने भुकम्प प्रविधी कार्यालयमा एउटा गाडि प्रयोग विहिन भएको थियो । नजिकै रहेको कृषि ज्ञान केन्द्र, जिल्ला सरकारी वकिल कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्या र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालयमा गाडीहरु थिए । तर जति बेला स्थानीय प्रशासनलाई सवारी साधन आवश्यक पर्छ वा विरामीहरु ओसार पसारका लागि जरुरी हुन्छ त्यस बेला ती सवारी साधन दिन्न भन्न कसैले पनि हुँदैन भन्ने तर्फ सबैले हेक्का राख्न जरुरी छ ।