सिन्धुलीमा बढ्यो कोरोनाको त्रास, व्यापारीद्धारा आदेश उलंघन, भोलीको बैठकले ठोस निर्णय गर्ने


सिन्धुलीमा दैनिकजसो कोरोना संक्रमित बिरामीहरु फेला परिरहेका बेला साप्ताहिक रुपमा लाग्ने हाटबजारमा सर्वसाधारणको भीडभाडले सदरमुकामवासीमा त्रास उत्पन्न गराएको छ । सिन्धुलीमा कोरोना संक्रमित बिरामीहरुको संख्या १३ पुगेको छ ।
गएको बैशाख ८ गते बसेको कोभिड व्यबस्थापन केन्द्रको बैठकले सिन्धुली जिल्लामा पार्टी प्यालेस, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस, र हाटबजार मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
स्थानीय प्रशासनको सूचनालाई बेवास्तागर्दै सिन्धुलीका व्यापारीहरुले आज हाटबजार सञ्चालन गरेपछि सर्वसाधारण नागरिकमा त्रास पैदा गरेको स्थानीय केदारप्रसाद सत्यालले बताए ।
प्रशासनको सूचनामा भौतिक रूपमा उपस्थित भई गर्नै पर्ने भएमा बढीमा पच्चीस जना भन्दा बढी सहभागी गर्न नपाइने जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने भनिएको थियो । तर प्रशासनको सूचनालाई व्यापारीहरुले धोती लगाईदिए ।

No description available.
फोटो सौजन्यः बलबीर भुजेल

पत्रकारहरु समाचार संकलनका लागि हाटबजारमा पुग्दा बजारमा न सामाजिक दुरी कायम थियो त न हाट बजारमा आउनेहरूले मास्क नै लगाएका थिए । न त नियामक निकायकोनैं उपस्थिति थियो ।
प्रशासनले कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा दश रुपैंया लिई मास्क उपलब्ध गराउनु पर्नेछ भनेको थियो । तर सञ्चालक समितिको कार्यालय बन्द थियो भने अध्यक्ष बद्रीवहादुर कार्कीको मोवाइल फोन बन्द थियो । हामीले उनको घरमा रहेको ल्याण्ड लाइन फोनमा सम्पर्क गर्दा उनी बाहिर गएको बताइएको थियो ।

No description available.

यसैबीच प्रमुख जिल्ला अधिकारी शुरेश न्यौपानेले संक्षिप्त प्रतिक्रिया दिंदै भनेः मैंंले पनि हाट बजार सञ्चालन भएको थाहा पाएको छु, नगरपालिकाको कार्य क्षेत्र भएकाले हामीले एक्कासी बन्द गर्न मिल्दैन, कमलामाई नगरपालिकाले हामीलाई बन्द गर्नु भनेको भए हामी बिहानै बन्द गर्ने थियौं । हाट बजार सञ्चालन भएका विषयमा भोली बस्ने कोभिड व्यवस्थापन समितिको बैठकमा छलफल हुने र एउटा ठोस निर्णय गरिने प्रजिअ न्यौपानेको भनाई थियो ।

No description available.
No photo description available.