माओवादीले बादलसहित मन्त्रीहरुलाई फिर्ता बोलायो, सरकारलाई दिएको समर्थन भने कायमै

नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो ।

सरकारमा बादल गृहमन्त्री, लेखराज भट्ट उद्योगमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, मणि थापा खानेपानीमन्त्री, प्रभु साह सिँचाईमन्त्री, दावा लामा खेलकुदमन्त्री र गौरीशंकर चौधरी श्रममन्त्री छन् ।

बादल माओवादी केन्द्रको नेतृत्व गर्दै ओली सरकारमा गएका हुन् भने भट्ट माओवादीकै कोटामा मन्त्री बनेका थिए । पाँचमन्त्री भने साबिकको नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि बनेका हुन् । नेकपा विभाजनमा प्रचण्ड–माधव समूह छाडेर आफूतिर आएका उनीहरुलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका हुन् ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्यँुताएपछि माधवकुमार नेपाल समूह एमालेमै सक्रिय भएका छन्, तर बादलसहितको समूह माओवादी केन्द्रमा फर्किएका छैनन् ।

शुक्रबार एमाले अध्यक्ष ओलीले आफ्नो समूहको बैठक राखेर बादलसहितका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । बादललाई बागमती प्रदेशको इन्चार्ज र भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी समेत दिएका छन् ।

२४ घण्टे स्पष्टीकरण माग

माओवादी केन्द्रको बैठकले पार्टी परित्याग नगरी एमाले अध्यक्ष ओलीले दिएको जिम्मेवारी स्वीकार गरेका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ । उहाँहरुले दल त्याग गर्नु भएको हो वा के हो स्पष्ट पार्न भनिएको नारायणकाजी श्रेष्ठले बताए ।

माओवादीमा नफर्किए उनीहरुलाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी छ । त्यसो भएमा उनीहरुको संसद पद जान्छ । ओलीतिर लागेका उर्जामन्त्री रायमाझीले अब सांसद र मन्त्री पद गएपनि ओलीको साथ नछोड्ने बताएका छन् ।

समर्थन भने कायमै

सरकारलाई दिएको समर्थन भने फिर्ता नलिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । माओवादीले आइतबार ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ । तर चैत २ गतेका लागि राखिएको राष्ट्रिय भेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।