दाहाल–नेपाल समूहका तीन नेता बल्खुस्थित पार्टी कार्यालय पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय समिति बैठक सकिएलगत्तै बल्खु पुगी मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका हुन्।
उनीहरुले सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिन बल्खु पुगेको प्रतिक्रिया दिए। उनीहरुले आफूहरु नै वास्तविक नेकपा भएको भन्दै सबै कमिकमजोरी सच्याएर एकतावद्ध हुन सबैलाई आह्वान समेत गरे।
अध्यक्ष दाहालले लोकतन्त्र र गणतन्त्रविरुद्धको षडयन्त्रको रुपमा असंवैधानिक तरिकाले संसद विघटन गरिएकाले त्यसविरुद्ध कम्युनिष्ट एकता आवश्यक रहेको प्रतिक्रिया दिए। उनले अहिलेसम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धिका विरुद्धको षडयन्त्रको रुपमा संसद विघटनलाई लिएको भन्दै त्यसलाई सफल हुन नदिने संकल्प गरे।
उनले भने, ‘हामीले दिने सन्देश भनेको के हो भने संसद अप्राकृतिक र असंवैधानिक तरिकाले विघटन गरियो। यो लोकतन्त्रका विरुद्ध, गणतन्त्रका विरुद्ध र अहिलेसम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धिका विरुद्ध षडयन्त्रको रुपमा छ। यसलाई हामी सफल हुन दिन्नौँ।’
चण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनतालाई प्रतिनिधिसभाको विघटनविरुद्धमा एकजुट हुन आग्रह गरे।
उनले भने, ‘अहिले सिङ्गो राष्ट्र नै अनिश्चितताको भूमरीमा परेको छ। त्याग, तपस्या र बलिदानबाट ल्याएको संविधान, जनप्रतिनिधिहरुबाट निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधानलाई कुल्चिने काम भएको छ। त्यसको प्रावधानका विपरित, भावनाका विपरित, मर्मका विपरित प्रतिनधिसभालाई विघटन गर्ने अत्यन्तै गलत कदम प्रधानमन्त्री केपी शर्मा ओलीबाट चालिएको छ।’
त्यसैगरी वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली सच्चा कम्युनिष्ट नै नभएको टिप्पणी गरे। प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद विघटन गरेर अपराध गरेको टिप्पणी गरे।