राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै शुक्रबार मोटरसाइकल र्याली गरेको छ।
सानोपोखराबाट नाराबाजीसहित निस्किएको र्यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो।
प्रदर्शनका क्रममा राजा र हिन्दूत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी अन्त्य गर्न प्रर्दशनकारीले माग गरेका थिए।सहर परिक्रमा पश्चात सिमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए।
राप्रपा केन्द्रिय सदस्य मधु अधिकारीले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे। कांग्रेस कम्युनिष्ट गलत नीति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारिले राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे।
पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताए। राप्रपाको नेतृत्वमा असली परिवर्तनको आन्दोलनअघि बढ्ने बर्तौलाले धारणा राखे।
पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ। राजतन्त्रको पक्षमा शनिबार काठमाडौँमा बृहत् प्रर्दशन हुँदैछ।











