
पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसले उत्पन्न गरेको वर्तमान संकटका बेला विभिन्न संघ संस्थाले वितरण गरिएको राहत तथा खाद्य सामग्रीको गुणस्तर मापन गर्नुपर्ने माग गरेका छन् । जी. शाह (ज्ञानेन्द्र शाह) का नामको समाजिक सञ्जाल ट्वीटर एकाउण्टमा पोष्ट गर्दै उनले संकटका बेला वितरित कुनै पनि खाद्य वस्तुका कारण अर्को कुनै विपत निम्त्याइनु दुर्भाग्यपूर्ण हुनसक्छ भन्दै सरकारलाई सचेत हुन अनुरोध गरेका छन् ।
त्यसैगरी उनले लकडाउनलाई सबै नागरिकले पूर्ण पालना गर्नुपर्ने पनि उल्लेख गरेका छन् । जो जहाँ जुन अवस्थामा रहेको भए पनि सोही अवस्थामा आम नागरिकलाई सरकारले बसाउनु पर्ने र कोरोना संक्रमण थप फैलिन नदिन सक्रिय हुनु पर्ने उनको सुझाव छ । उनले लेखेका छन्, ‘शहरमा रहेकालाई दूरदराज गाउँमा पठाउँदा संक्रमणको संभावना र त्रास बढ्नुका साथै केही भवितब्य परे उद्दारमा संकट पर्न सक्ने तथ्यलाई नकार्न सकिन्न ।’
साथै उनले संकटको यस घडिमा देश र जनाको हितमा कार्यरत राष्ट्रसेवक कर्मचारी सेना, प्रहरी, सरसफाइकर्मी लगायत कसैको पनि मनोबल गिर्ने गरी सरकारले कुनै निर्णय लिनु वा कानून विपरीत पूर्वाग्रह राख्नु निन्दनीय कार्य भएको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘कानून निर्माण पक्षले नै कानून मिच्दा आम जनमानसले कानूनको अविश्वास गर्नेछन् ।’