कोरोनाको निहुँमा दुख दिएको भन्दै सञ्चारगृहका पीडित पत्रकार-कर्मचारीले सुरु गरे आन्दोलन

कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने सञ्चारसंस्थाबाट पीडित पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका छन्।

लामो समयसम्म पनि तलब माग्दा, पुनर्बहाली गर्दा तथा श्रमजिवी पत्रकार ऐन अनुसार सुविधा माग्दा कामबाटै बञ्चित गराइएपछि पत्रकारहरु रिले अनशनमा बसेका हुन्।

त्रकार महासंघको समन्वयमा बिहीबार पीडित पत्रकार-कर्मचारी संयुक्त संघर्ष समितिले पहिलो चरणको आन्दोलन स्वरुप रिले अनशन सुरु गरेको हो। पाँच दिने अनशनमा पत्रकारका विभिन्न संघसंगठनले ऐक्यवद्धता जनाएका छन्। कारोबार दैनिकका कार्यरत पत्रकार धर्मेन्द्र कर्णको संयोजकत्वमा गठित समितिले श्रमजिवी पत्रकार ऐन लागू नगरेसम्म आफूहरुको अनशन जारी रहने बताएका छन्।

‘वर्षौंदेखि अरुका अन्यायका विरुद्ध हामीले समाचार लेख्यौं, त्यही विषयलाई व्यापार बनाएर मिडिया मालिकहरुले कमाए’, उनले भने, ‘अहिले ऐन अनुसार सुविधा माग्दा कामबाटै निकाल्ने, अनेक हतकण्डा मच्चाउने काम किन भइरहेछ। के यी कर्पोरेट मिडियाहरु राज्य भन्दा पनि ठूला हुन् र?’

मिडिया नेपाल, प्रेस संगठन, मधेशी पत्रकार समाज लगायतका सबै पत्रकार संघ संगठनहरुले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्। पीडित पत्रकारहरुले पनि अब कानुनी र सडक संघर्षबाटै अधिकार प्राप्त गर्ने बताएका छन्।