रेमडिसिभर औषधि चलाइएका कोरोना संक्रमितको मृत्यु

विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित थप एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलका अनुसार मोरंगको जहदा गाँउपालिका ६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको हो।

कोरोना पोजिटिभ भएसँगै अशाेज ४ गते बिहान ११ बजे केन्द्रमा भर्ना गरिएका बिरामीमा दीर्घ रोग मधुमेह तथा उच्च रक्तचापको समसया थियो।

गएको ४ दिनदेखि बिरामीमा श्वासप्रश्वासको समस्या बढ्दै गएको डा. सिग्देलले जानकारी दिए। स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि अशाेज ६ गते राति पौने ८ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको गरिएको थियो। यसक्रमा बिरामीमा रेमडिसिभर औषधि समेत चलाउँदै आएको उनले बताए।

यससँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण १९ महिला र ४९ पुरुष गरि कुल ६८ जनाको मृत्यु भएको छ।