सिन्धुली÷कमलामाई नगरपालिका कार्यालयले संझौता अनुसार राजस्व रकम दाखिला नगरेको भन्दै पूर्व भूमिसुधार मन्त्री बिक्रम पाण्डेद्धारा सञ्चालित कालिका कन्ट्रक्सनका नाममा पत्राचार गरेको छ । पूर्व पश्चिम मदनभण्डारी राजमार्गको सिन्धुली हेटौडा सडक निर्माणको ठेक्का लिएको कालिका कन्ट्रक्सन र कमलामाई नगरपालिका बीचमा नगर क्षेत्रको गिट्टी ढुंगा र बालुवा प्रयोग गरेवापत ३४ लाख ४३ हजार ८ सय ९६ रुपैयाँ राजस्व वापत बुझाउने संझौता भएको थियो । सो संझौता बमोजिम कालिकाले तत्कालै ४ लाख ७३ हजार ७ सय ७१ रुपैयाँ कमलामाईको राजस्व खातामा दाखिला गरेको थियो । सो संझौताको म्याद गएको असारमा समाप्त भई सकेको र पटक पटक फोन मार्फत ताकेता गर्दासमेत रकम जम्मा नगरेपछि तत्कालै बाँकी रकम जम्मा गर्न र नगरे सडक निर्माण कार्य रोक्का गर्न सक्ने आशयसहित पत्राचार गरिएको थाहा लागेको छ । सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार तत्कालै रकम जम्मा गर्न र नगरे आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ । संझौतामा उल्लेख नभए बमोजिमको रकम जम्मा गर्न पत्राचार गरेका छौं, आएन भने हामी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउँछौं, राजस्व शाखाका प्रमुख कुमार थापाले भने । उनका अनुसार रसुवा तोकिए अनुसार कन्ट्रक्सनले पनि कमलामाई नगरपालिकालाई राजस्व बापतको लाखौं रकम बुझाएको छैन । हामी उसबाट पनि रकम कसरी असुली गर्न सकिन्छ भनेर छलफलमा छौं, उनले अगाडि भने ।
सिन्धुलीबाट प्रकाशित सन्देश जनप्रिय साप्ताहिकले समाचार लेखेको छ ।










