डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन

विभिन्न माग राखेर जुम्लामा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ। माइतीघर मण्डलामा शनिबार दिउँसो सत्याग्रही डा. केसीका मागहरु पूरा गर्नु पर्ने मागसहित उनका समर्थकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सभागीहरुले ‘गोविन्द केसीको माग पूरा गर, गोविन्द केसीको जीवन रक्षा गर’ लेखिएका प्लेकार्ड बोकेका थिए।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले गएको सोमबार अर्थात भदौ २९ गतेदेखि जुम्लामा १९ औँ अनशन सुरु गरेका हुन् ।

डा. केसीले नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र तानाशाहीतन्त्रविरुद्ध १९ औँ सत्याग्रह सुरु गरेको बताएका छन् ।