कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिएका बाँकेका एक थुनुवा फरार भएको प्रहरीले जनाएको छ।
खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशनबाट थुनुवा भागेका हुन्।
बाँके प्रहरीले लागुऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएका थुनुवालाई संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा पठाइएको थियो। भदौ ५ गते आइसोलेशन सेन्टरमा पठाइएका थुनुवा आइतबार भागेका हुन्।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आइसोलेशनमा पठाइएका थुनुवा भागेको र खोजी भइरहेको बताए। थुनुवा भागेपछि एसपी रानाले आइसोलेशनको ड्युटीमा रहेका पाँच प्रहरीलाई जिल्ला प्रहरी कार्यालय तानेका छन्।
उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको छ। एसपी रानाले भने, ‘राम्रो गर्ने प्रहरीलाई पुरस्कृत गर्छु । गल्ती गर्नेलाई कारबाही गर्छु ।’ कृषि तालिम केन्द्रको आइसोलेशनमा असईको कमाण्डमा पाँच प्रहरी खटिएका थिए। फरार थुनुवालाई खोज्नका लागि टोली परिचालन गरिएको छ। थुनुवा नेपालगञ्ज कै हुन्।
यसैबीच, कोरोना भाइरसको संक्रमण देखिएपछि कोहलपुरबाट अर्का एकजना भागेका छन्। उनी सम्पर्कमा आएका छैनन्। भारतबाट काम गर्न कोहलपुर आएका व्यक्ति कोरोना देखिएपछि सम्पर्कबिहीन भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए। ती व्यक्तिको खोजी भइरहेको छ।











