फ्रन्टलाइनमा रहेर सुरक्षा दिइरहेका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्नो मातहतका जवानदेखी अधिकृतसम्म सरुवा गरेपछि ति निकायमा कोरोना संक्रमणको त्रास बढेको सम्वद्ध अधिकारीहरुले बताउन थालेका छन् । समाचार स्रोतका अनुसार सिन्धुली जिल्लामा रहेको नेपाली सेना र प्रहरीमा बाहिर जिल्लाबाट सरुवाभई आएकाहरुमा देखिएको बताइएको छ । सम्वद्ध स्रोतका अनुसार नेपाली सेनामा देखिएको कोरोना संक्रमण तराईका जिल्लाबाट सरुवा भई आएका र केही विदा सकेर आएकाहरुमा देखिएको हो । उनीहरुलाई अहिले कमलामाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ११ जना प्रहरी वाहिरी जिल्लाबाट आएकाछन् ।
उनीहरु मध्ये मकवानपुरको रातमाटे गणबाट ५ जना सरुवा भई आएका छन् भने प्रहरीको तालिममा पासआउट भएर ६ जना सप्तरीको राजविराजबाट आएका हुन् ।
मकवानपुरबाट आएका भनिएका प्रहरीहरु सुरक्षित देखिएपछि राजविराजबाट आएका प्रहरीमा कोरोना संक्रमण बढ्नसक्ने भन्दै उनीहरुलाई नगरपालिकाकै क्वारेन्टाइनमा राखिएको छ । प्रहरी उपरिक्षक रञ्जु सिग्देलका अनुसार बाहिर जिल्लाबाट आएका प्रहरीहरुबाट ठूलो संख्यामा रहेका प्रहरी कर्मचारीलाई जोगाउनका लागि पनि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो । स्वास्थ्य अधिकारीहरुले सुरक्षाकर्मीलाई बढ्दो कोरोना संक्रमणका बेला एकठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने वा अनुसन्धानका नाममा पठाउने कार्यले जोखिम बढाएको बताएका छन् । उनीहरुले यस्तो अबस्थामा सुरक्षाकर्मीहरु जुन ठाउँमा छन्, त्यही ठाउँमा रहेर काम गर्न दिनुपर्छ, ती अधिकारीले भने । आजको सन्देश जनप्रिय साप्ताहिकले समाचार लेखेको छ ।










