कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय निकायले सञ्चालन गरेका क्वारेन्टाइन र आइसोलेसनमा बसेका नागरिकहरुले त्यस अबधीमा खाएको खाजा र खाना बापतको रकम हेर्ने हो भने डरलाग्दो रुपमा देखिएको छ । कमलामाई नगरपापालिकाले सञ्चालन गरेको आइसोलेसनमा बसेकाले खाएको मात्रै ९९४५६० रुपैयाँ देखिएको छ । जवकी यो रकम तीन महिनाको मात्रै हो । चैत्र महिनाबाट लकडाउन प्रारंभ भएपछि स्थानीय निकायले बनाएका क्वारेन्टाइनमा मानिसहरु आएर बस्न थालेका हुन् । नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा सिताराम पार्टी प्यालेस एण्ड रिसोर्टले दैनिक रुपमा विहान दिउँसो खाजा र विहान बेलुका खाना उपलव्ध गराउँदै आएको छ ।
सिन्धुली जिल्ला सदरमुकाम भएकाले पनि अन्य स्थानीय निकायका नागरिकहरु पहिला यही ठाउँमा ओर्लने भएकाले कमलामाई नगरपालिकामा त्यसको चाप देखिएको छ । जव कमलामाई नगरपालिकामा
क्वारेन्टाइनमा खाजा र खाना खुवाएको भुक्तानी मागगर्दै ९९४५६० रुपैयाँको विल पुग्यो त्यसपछि भने त्यहाँ खैलाबैलानैं मच्चियो । अनि विल रकम अनुसार क्वारेन्टाइनमा बसेका नागरिकहरुको नाम र ठेगाना रुजुगर्ने काम भयो, त्यसपछि भने पार्टी प्यालेसलाई माग गरिएको रकम भुक्तानी गर्न नसकिने भन्दै कार्यपालिका सदस्यहरुले जुन पालिकाका नागरिकहरु छन्, उनीहरुको खर्चको रकम सोही पालिकाले तिर्नुपर्छ भन्दै भुक्तानी नगर्न मेयर खड्गवहादुर खत्रीमाथि दबाब प¥यो । सन्देश जनप्रियलाई प्राप्त विवरण अनुसार कमलामाई नगरपालिकाको मात्रै असार महिनासम्मको अबधिमा ५ लाख ४३ हजार, दुधौली नगरपालिकाको ४५ हजार, मरिण गाउँपालिकाको २०५००, हरिहरपुरगढी गाउँपालिकाको ३७५००, तीनपाटन गाउँपालिकाको ८० हजार, ध्याङलेख गाउँपालिकाको १३५००, गोलञ्जोर गाउँपालिकाको १६०००, सुनकोशी गाउँपालिकाको १६५००, फिक्कल गाउँपालिकाको ७५०० रहेको छ । सम्बद्ध स्रोतका अनुसार नगरपालिकाको क्वारेन्टाइमा बसेका अन्य जिल्लाका नागरिकहरुले भने १ लाख ३० हजारको खाजा र खाना खाएका छन् । त्यस अवधीमा क्वारेन्टाइनमा बसेका उनीहरुले ८४ हजार ९६० रुपैयाँ बराबरको पानी (मिनरल) खाएका छन् । क्वारेन्टाइनमा सात स्थानीय निकाय मध्ये खानामा सबैभन्दा बढी रकम खर्च गर्ने कमलामाई नगरपालिका देखिएको छ । स्वास्थ्य शाखा प्रमुख केम थापाका अनुसार नगरपालिकामा सबै क्षेत्रका मानिसहरु आउने र उनीहरुको पिसिआर जाँचपछि क्वारेन्टाइनमा राख्नैपर्ने बाध्यताका कारणले अन्य स्थानीय निकाय भन्दा बढी रकम देखिएको हो ।
समाचार स्रोतका अनुसार असार मसान्तसम्म क्वारेन्टाइनमा बस्ने नागरिकहरुको विवरण हेर्दा कमलामाई नगरपालकाका १४९, दुधौली ८३, मरिण २९, हरिहरपुरगढी २१, सुनकोशी ६, तीनपाटन २९, गोलन्जोर ७, फिक्कल ५, ध्याङलेख १३ र अन्य जिल्लाका ३६ जना नागरिकसहित ३८७ जना रहेका छन् । असार मसान्तपछि अर्थात साउन महिनामा पनि ठूलो संख्यामा नागरिकहरु क्वारेन्टाइनमा बसिरहँदा खानामा मात्रै ठूलो रकम खर्च हुने देखिएको छ ।
यता केही दिन अघि जिल्ला प्रशासन कार्यालयको सर्वदलीय एवम् सर्वपक्षीय बैठकमा आफ्ना नागरिकहरुलाई आइसोलेसन र क्वारेन्टाइनमा राखेर उपचार गराएवापतको रकम सम्बन्धित स्थानीय निकायले भुक्तानी गर्नुपर्ने निर्णय ग¥यो । सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेपछि कमलामाई नगरपालिकामा बसेका स्थानीय निकायका व्यक्तिहरुको विवरणसहित रकम भुक्तानीका लागि पार्टी प्यालेसले मागगर्ने तयारी गरेको छ ।
लगेनन् आफ्ना नागरिक
विदेश लगायत जिल्ला बाहिरबाट आएका सिन्धुली जिल्लाका विभिन्न स्थानीय तहका नागरिकको कोरोना परिक्षणपछि आफ्ना नागरिकहरु लिन आउन अनुरोधगर्दा समेत त्यसलाई अटेर गरेको थाहा लागेको छ । स्वास्थ्य प्रमुख केम थापाका अनुसार दुधौली र मरिण गाउँपालिका बाहेक अन्य स्थानीय तहले आफ्ना नागरिकहरु लिन आउनु होला भन्दै पकट पटक खबर गर्दापनि नआएको र त्यसको आर्थिक भार कमलामाई नगरपालिकालाई परिरहेको बताए । अहिले पनि तीनपाटन गाउँपालिकाका मानिसहरु
क्वारेन्टाइनमा छन्, अध्यक्ष कर्ण थापा र प्रमुख प्रशासकीय अधिृतलाई खबर गर्दा पनि लिन आउनु भएन, थापाले भने । यो समाचार आजको जनप्रिय साप्ताहिकले लेखेको छ ।










