पर्साको पोखरिया नगरपालिकाका मेयरसहित ९२ जनामा कोरोना संक्रमण पुष्टि

पर्साको पोखरिया नगरपालिकाका मेयरसहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित थप ९२ जनामा कोरोना संक्रमण देखिएको हो।

नारायणी अस्पतालका अनुसार पोखरियाका मेयरसहित सो नगरपालिकामा ३३ जनामा कोरोना संक्रमण देखिएको हो। मेयरसहित उनका परिवारका सदस्य, सवारी चालक तथा स्वकीय सचिवमा समेत कोरोना देखिएको हो।

यसैगरी पोखरिया अस्पतालका मेसु, चार डाक्टर, तीन जना नर्समा समेत कोरोना पुष्टि भएको हो। संक्रमण देखिनेमा वीरगञ्ज महानगरका ३८ जना रहेका छन्। पर्साको जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा, सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ।

सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष लालबहादुर यादवमा पनि कोरोना पुष्टि भएको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक रौनियारका अनुसार संक्रमित हुनेमा २ महिला स्वास्थ्यकर्मी पनि रहेका छन्।

एक जना लखनपुर स्वास्थ्य चौकीका इन्चार्ज हुन् भने एक जना महुवन स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हुन्। २ पुरुष स्वास्थ्यकर्मीमा पनि एक जना महुवन र एक जना लखनपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हुन्।