
जिल्लाका कोभिड–१९ सङ्क्रमितको संख्या बढ्दै जान थालेपछि कमलामाई नगरपालिकाले साउन २७ गते मङ्गलबार राती १२ बजेदेखि भदौ २ गतेसम्म अत्यावश्क सेवाबाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको सक्रियतामा सोमबार कोभिड १९ प्रसार नियन्त्रण तथा जोखिम निराकरण सम्वन्धमा बसेको सर्वपक्षिय वैठकले वडा नम्बर–६ स्थित एपोलो हस्पिटललाई आइसोलेसन सेन्टरको रुपमा विकासगरी सञ्चालनमा ल्याउने निर्णयसमेत गरेको छ । कमलामाई नगरपालिकाका प्रवक्ता कर्ण घिसिंगका अनुसार सिन्धुलीमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेपछि राममाडीमा बन्द रहेको एपोलो हस्पिटललाई आईसोलेसन सेन्टरका रुपमा व्यवस्थापन गर्न लागिएको हो । त्यसैगरी बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको सव व्यवस्थापनका लागि आवश्यक स्थान छनौट गर्ने र सव व्यवस्थापनका लागि स्थान छनोट गर्ने र आवश्यक क्याटोगोरी १ को पिपिइसेट तयारी अबस्थामा राख्ने निर्णयसमेत गरेको छ । त्यसैगरी जिल्लास्तरमा नैं पीसीआर परीक्षण गर्ने ल्याव र आइसोलेसन केन्द्र स्थापनाका लागि यस अघिनै भएको निर्णय कार्यान्वयनका सन्दर्भमा समीक्षा गर्ने निर्णयसमेत गरिएको प्रवक्ता घिसिंगले प्रदेशखवरलाई जानकारी दिए ।
केही दिन अगाडि प्रदेशखवर अनलाईनले सिन्धुलीमा भारतीय नागरिकहरु ठूलो संख्यामा आफन्तजनको आएर बसेको, कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको र स्थानीय प्रशासन बेखबर बनेको समाचार प्रकाशन गरेको थियो । सोही समाचारलाई आधार बनाएर कमलामाई नगरपालिकाले आफ्ना वडा अध्यक्षहरुलाई आफ्नो टोल छिमेकमा भारत तथा अन्य मुलुकबाट आइ बसेका व्यक्तिहरुको विवरण उपलव्ध गराउन निर्देशन जारी गरेको थियो ।