वीरगञ्जका अस्पताल भर्ना गर्न नमानेपछि रातभर अस्पतालको ढोका ढक्ढक्याउँदै युवतीको मृत्यु

वीरगञ्जमा रहेका निजी अस्पतालहरुले स्वास प्रस्वासमा समस्या आएका बिरामीलाई भर्ना गर्न नमानेपछि एक युवतीको ज्यान गएको छ। २० वर्षीया ती युवतीको अस्पतालको ढोका ढक्ढक्याउँदै मृत्यु भएको हाे।

वीरगञ्ज २ छपकैया निवासी २० वर्षकी युवती विष्णु लामाको अस्पतालले भर्ना गर्न नमानेपछि अटोमा राखेर डुलाउँदा डुलाउँदै मृत्यु भएको आफन्तले बताएका छन्।

लामालाई शुक्रबार राति १० बजेको समयमा स्वास प्रस्वासमा समस्या आएपछि अस्पताल लगिए पनि कुनै पनि अस्पतालले भर्ना गर्न नमानेको उनका भिनाजु रुपेश सिंहले बताए।

‘स्वास प्रस्वासमा समस्या र ज्वरो आएपछि राति नै वीरगञ्जका थुप्रै अस्पतालहरुमा लिएर गयौँ तर, कसैले पनि भर्ना गर्न मानेन’, सिंहले भने, ‘बिरामी सालीलाई लिएर एक देखि अर्को अस्पताल घुम्दा घुम्दै मृत्यु भयो।’

सुरुमा उनलाई वीरगञ्जको एडभान्स अस्पताल लगिएको थियो। त्यहाँ उपचारको लागि आईसीयू खाली नभएको भन्दै अस्पतालले भर्ना गर्न नमानेको सिंहले बताए।

त्यसपछि गण्डकस्थित बयोधा अस्पताल लगिए पनि त्यहाँबाट समेत फर्काइएको सिंहले बताए। बयोधा अस्पतालका डाक्टरहरुले ‘कोरोनाको लक्षण देखिएका बिरामीको यहाँ चेकजाँच हुन नसक्ने’ भनेर फर्काएको उनले बताए।