पहिरो तथा पुलमा क्षति पुगेका कारण नारायणगढ– मुग्लिनसडक अझै पूर्णरुपमा अवरुद्ध, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

लगातारको वर्षाका कारण आएको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड विगत २४ घण्टा भन्दा लामो समयदेखि अवरुद्ध रहेको छ । सोमबार बिहान गएको पहिरोका कारण बाटो अवरुद्ध भएको हो ।

चार किलोमा खसेको पहिरोले पूर्णरुपमा अवरुद्ध भएको बाटो खुलाउने प्रयासमा लगातारको वर्षाले बाधा गरेको सडक आयोजनाले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले बाटो खुलाउन समय लागेको हो ।

मंगलबार मध्यान्नसम्म बाटो सुचारु गर्ने प्रयास भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । त्यसपछि नारायणगढ–पोखरा यातायात सञ्चालन गर्न सकिने छ ।

तर काठमाडौँको यात्राका लागि भने केही समय पर्खिनु पर्ने भएको छ । चितवन र धादिङ्गको सिमानामा रहेको मोवा खोलाको पुलमा क्षति पुगेकाले समय लाग्ने भएको हो । या मार्ग भएर काठमाडौँ आउने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।