भक्तपुरका एक प्रहरी जवानसहित चारजनामा कोराेना संक्रमण

दैनिक झण्डै २० हजार संक्रमित थपिने गरेको र त्यसमध्ये सात सयको मृत्यु

भक्तपुरमा चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखाका प्रहरी जवान रहेको महानगरी प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताए।

संक्रमित ३२ वर्षिय प्रहरी जवान सञ्चार शाखाका कार्यरत रहेको प्रधानले बताए। जवानमा कोरोना संक्रमण पुष्टि भएसँगै सञ्चार शाखा सिल गरिएको छ।

यस्तै, बुधबार भक्तपुर नगरपालिका–७ का २२ वर्षका एक पुरुष र चितवन घर भई हाल ललितपुर टीकाथलि बस्ने ५० वर्षको पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यी दुवैको स्वाब भक्तपुर अस्पतालमा लिइएको हो। ललितपुर टीकाथलीका पुरुष उपचारका लागि मानव अंग प्रत्यारोपण केन्द्रमा आएको बेलामा स्वाब लिइएको हो।

यस्तै जेठ ३० गते कुवेतबाट नेपाल फर्किएकी एक महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनी चाँगुनारायण नगरपालिका–७ खरिपाटिस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेनटाइनमा बसेकी थिइन्। उनको स्थायी ठेगाना गैँडाकोट स्थायी घर भएकी ती महिलामा कोरोना पोजेटिभ भएको हो। २२ वर्षे ती महिला शुक्रबार १ सय ५० जनासँगै नेपाल आएकी थिइन्।

संक्रमित सबैलाई अस्पताल लगिएको भक्तपुरको प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले बताइन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

सेवा प्रभावित हुँदैन: भक्तपुर प्रहरी

महानगरी प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार, ‘भक्तपुर प्रहरीले पहिला नै सेवा प्रवाहको लागि ठाउँ विभाजन गरेका छौँ। त्यसकारण प्रहरीले दिने सेवा प्रभावित हुँदैन।’

प्रधानका अनुसार बाहिर ड्यूटी गर्नेहरु विद्यार्थी निकेतन र शारदा माविमा बसेका छन्। प्रहरी कार्यालय भित्र काम गर्नेहरुले पनि सावधानी अपनाउन पर्ने भएकोले विशेष ख्याल गरिएको छ। संक्रमित युवा सञ्चार शाखामा भएकोले यो शाखा छुट्टै ठाउँमा राखिएको छ ।

यो शाखामा काम गर्ने १२ जनामध्ये ११ जनालाई परीक्षणको तयारी गरिराखेको र परीक्षणको नतिजा आएपछि मात्र बाहिर निश्कने अनुमति छ। सञ्चार शाखामा क्वारेन्टाइनबाट नै काम हुने छ। अन्यको हकमा पनि अति आवश्यक काम बाहेक अरु बेलामा बाहिर निश्कन नपाइने व्यवस्था रहेको छ।