कैलालीको गोदावरी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक वाहेकका सम्पुर्ण सेवा बन्द गरेको छ।
शनिबार धनगढीस्थित प्रयोगशालामा गरिएको परिक्षणमा गोदावरी नगरपालिका–१ का बासिन्दा एवं नगरपालिकाका ४१ वर्षिय जनप्रतिनिधिमा कोरोना देखिएको हो। उनी चैत्र ११ गतेदेखि नै नगरपालिकाको कोरोना उद्धार टिममा सक्रिय रहेका थिए।
नगरपालिकामा बहिरबाट आउने स्थानीयहरुको उनकै नेतृत्वमा उद्धार गर्ने गरिएको थियो। शुरुदेखि नै उनी आफ्नो टिमसहित अलग्गै बस्ने गरेका थिए। पछिल्लो समयमा भारतबाट धेरै मानिसहरु नगरपालिकामा भित्रिएपछि पनि उनी उद्धारको कार्यमा सक्रिय नै थिए।
नगरपालिका स्रोतका अनुसार ती संक्रमित जनप्रतिनिधि कामको शिलशिलामा धेरैको सम्पर्कमा गएका छन्। उनको जेठ २० गते स्वाव संकलन गरिएको थियो। यसअघि उनको आरडिटी रिपोर्टसमेत पोजेटिभ आएको थियो।
उनी अहिले नगरपालिकामा नै स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेशनमा बसेका छन्। संक्रमित देखिएका ती जनप्रतिनिधिले आफ्नो स्वास्थ्य राम्रो रहेको बताए।
‘नगरपालिकाभित्र उद्धार कै कार्यमा व्यस्त थिएँ, स्वास्थ्य सतर्कता पनि अपनाउँदै आएको हुँ’, उनले भने, ‘तर कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको जानकारी पाएँ तर म ठीक छु कुनै समस्या छै ।’
यसैबीच गोदावरी नगरपालिकाले जनप्रतिनिधिमा कोरोना पोजेटिभ पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै अत्यावश्यक स्वास्थ्य र सरसफाई बाहेकका सम्पूर्ण कामहरु बन्द रहने जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टद्वारा जारी सूचनामा नगरपालिकामा पनि कोरोनाको संक्रमण बढ्दै गएकाले आइतबारदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने उल्लेख छ।