एमसीसीको विरोधमा प्रदर्शन, प्रहरीको कुटाइले केही घाइते

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आइतबार आयोजित विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौँको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेपछि केही घाइते भएका छन्।

प्रदर्शनकारीहरुले केहीको हात भाँच्चिएको र केहीलाई प्रहरीले निर्ममतापूर्वक लाठी बज्राएको बताएका छन्।

एमसीसीको विरोधमा नाराबाजी गरिरहेका प्रदर्शनकारीलाई प्रहरीले धरपकड गरेपछि उनीहरु तितरबितर भएका छन्। केहीलाई प्रहरीले गिरफ्तार गरेको छ।

एमसीसी सम्झौता राष्ट्रघाती रहेको दाबीसहित त्यसलाई पारित गर्न नहुने भन्दै सदन र सडकम विरोध चर्किरहेको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकै एक पक्षले राष्ट्रघातीको संज्ञा दिँदै एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने अडान लिँदै आएको छ।

तर सरकारले संसदको जारी अधिवेशनबाटै एमसीसी पारित गर्ने तयारी गरिरहेको छ। संसद बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले अनुमोदनका लागि प्रतिक्षा गरिरहको एमसीसी सम्झौता पारित गर्न सांसदहरुलाई निर्देशन दिएका थिए ।

विरोध बढ्दै गएपछि सत्तारुढ नेकपाले एमसीसीबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको उक्त कार्यदलले पनि यथास्थितिमा एमसीसी पास गर्न नहुने सुझाव सरकारलाई दिएको थियो ।

एमसीसीका केही बुदाँ संशोधन गरेर त्यसलाई स्वीकार्न सकिने राय उक्त कार्यदलको छ । तर अमेरिकाले सम्झौतामा कुुनै बुँदा फेर्न नसकिने स्पष्ट पारिसकेको छ । शनिबार बसेको नेकपाको सचिवालय बैठकले एमसीसीबारे अब संसद बैठकले नै टुंगो लगाउने निर्णय गरेको थियो।