सिन्धुली: सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीस्थित रातमाटामा अवस्थित रामेश्वरधाम परिसरमा महाशिवरात्रिको पावन अवसर पारेर श्रीमदभागवत पूर्वांगको पूर्वसन्ध्यामा भव्य शान्ति कलश यात्रा सम्पन्न गरिएको छ । पंचेबाजाको मंगलधुन, पण्डित, पुरोहित तथा सन्त–महन्थहरूको अगुवाइमा धाम परिसरबाट सुरु भएको यात्रामा श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता देखिएको थियो ।
कलश यात्राले सिन्धुलीमाडी बजार क्षेत्रका अतिरिक्त कालीमाईसहित विभिन्न मठ–मन्दिर तथा चोक–चौताराहरूको परिक्रमा गर्दै धार्मिक वातावरण सिर्जना गरेको थियो । यात्राको समापन मण्डपमा भई एक सय आठभन्दा बढी कलश विधिपूर्वक प्रतिस्थापना गरिएको आयोजकले जनाएको छ । भक्तजनले हरिनाम संकीर्तन, भजन तथा जयघोषका साथ धार्मिक उत्साह प्रकट गरेका थिए ।
रामेश्वरधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद कोईरालाका अनुसार आइतवार पूर्वांग सम्पन्न गरी फाल्गुण दस गतेसम्म सञ्चालन हुने श्रीमदभागवत महायज्ञमा पण्डित कमलनयन काफ्लेको मुखारविन्दबाट कथा प्रवचन हुनेछ । महायज्ञ अवधिभर दैनिक कथा, पाठ, पारायण, भजन–कीर्तन तथा आरती गरिने कार्यक्रम रहेको छ ।
ज्ञानमहायज्ञको समापन अवसरमा सामूहिक व्रतमन्ध, लाखवत्ती प्रज्वलन तथा अन्य धार्मिक अनुष्ठानहरू गरिने तयारी रहेको अध्यक्ष कोईरालाले जानकारी दिनुभयो। विगत लामो समयदेखि महाशिवरात्रिको शुभदिनबाट प्रत्येक वर्ष धाम परिसरमा विभिन्न पुराण आयोजनाको परम्परा निरन्तर जारी रहेको समितिले जनाएको छ ।
हाल रामेश्वरधाम क्रमशः महत्वपूर्ण धार्मिक तीर्थस्थलका रूपमा विकसित हुँदै गएको स्थानीयवासीको भनाइ छ । धार्मिक गतिविधि बढ्दै जाँदा यहाँ भक्तजनको आवागमन वृद्धि भई धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।











