बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक खण्डको करिब साढे चार किलोमिटर डाइभर्सन सडक रोशी खोलाको बाढीले बगाएको छ ।
गत वर्ष असोजको बाढीले सडक बगाएपछि डाइभर्सन सडक बनाएर यातायात सञ्चालन भइरहेकोमा त्यो डाइभर्सनको अधिकांश हिस्सा पनि अहिलेको बाढीले बगाएको डिभिजन सडक कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीले बताइन् ।
उनका अनुसार यो सडक कार्यालयले हेर्ने काभ्रे चौकीडाँडादेखि बर्खेखोलासम्म १६ ठाउँमा बाढीले डाइभर्सन बगाएको छ । ती सबै ठाउँ गरेर करिब साढे तीन किलोमिटर सडक रोशीले बगाएको कार्यालयले जनाएको छ ।
त्यस्तै बर्खे खोलादेखि नेपालथोकसम्म सिन्धुली जिल्लामा पर्ने सडकमा बनेको डाइर्भसन पनि तीन ठाउँमा बगेको डिभिजन सडक कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले बताए ।











