माओवादी अध्यक्ष प्रचण्डलाई जनार्दन शर्माको झटारोः सत्ता स्वार्थको कारणले दुई तिहाइ नजिक पुगेको नेकपालाई चिसो पानी खन्याइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज समस्या देखा परेको बताएका छन्। वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै शासनलाई सेवाको रूपमा बदल्न नसकेको कारणले आफूहरू चुकेको बताए।

उनले भने, ‘कम्युनिस्ट धु्रविकरण आजको आवश्यकता छ। सानो समूह होइन, एउटा बृहत् स्वार्थ समूहभन्दा बाहिर रहेर। हामीले नेकपा बनाएर पनि प्रयास गर्‍यौँ। सिद्धान्त मिलेको थियो थिएन एउटा पाटो होला। मिलाउन सक्ने ठाउँ पनि थियो। जनताको साथले दुई तिहाइ नजिक बहुमत प्राप्त भयो। तर सत्ता स्वार्थको कारणले चिसो पानी खन्याइयो। म व्यक्तिबिशेृषलाई कुनै दोष दिन चाहन्नँ।’

उनले आज निराशाको जगमा नयाँ नयाँ शक्तिहरू पैदा हुनुको जिम्मेवारी नेकपाको नेतृत्वले लिनुपर्ने बताए। उनले थपे, ‘समाजवादको कुरा गर्ने अनि, व्यक्तिगत स्वार्थमा केन्द्रित भएर त्यो प्रयास असफल बनाइयो। कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाइयो। कम्युनिस्टभित्र रहेको महारोगको कारणले आज समस्या सिर्जना भएको छ।’ ०७९ को चुनावमा गठबन्धन गरेर लड्दा पनि अवसर पाएको सुनाए।

उनले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भने, ‘चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि थियो। केही कामको थालनी पनि भएको थियो। तर आफ्नै बुद्धिले, के गर्छस् मङ्गले आफ्नै ढङ्गले भन्या जस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो आज जनताको एजेन्डाहरू सम्बोधन गर्ने सम्भावना छैन। अहिले विभिन्न काण्डै काण्ड हेरिराख्नुपरेको छ। त्यसको जिम्मेवार पनि हामी हौँ।’

कम्युनिस्ट आन्दोलनको पुनर्गठन नयाँ पुस्ताले अघि बढाउन आवश्यक रहेको बताए। उनले थपे, ‘अब नयाँ पुस्ताले इगोको टकराब नगर्नेगरी, इगोकै कारणले नेकपा टुट्यो। अब नेताहरुलाई गाली गर्ने होइन। उहाँहरुलाई धारे हात लगाउने होइन। उहाँहरुको भूमिकालाई स्थापित र सम्मान गर्ने तर उहाँहरुले गरेका गल्तीबाट सिक्ने, ती गल्तीहरुबाट सिकेर पार्टीलाई लोकतान्त्रिकरण गर्ने, वैचारिक बहस गरेर विचार कार्यदिशा, कार्यनीति योजना संगठन, विधि जनता अनुकुल बनाउने प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ।’