एमालेभित्र मौलाएको गुटबन्दीप्रति कठोर बन्दै अध्यक्ष ओली, यस्तो छ राजनीतिक प्रतिवेदन

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्य गरेर आफू नेतृत्वको सरकार गठनपछि प्रतिक्रियावादीमा छाएको छटपटीदेखि पार्टीमा मौलाउन थालेको गटबन्दीसम्मलाई मसेटदै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बटमलाइन समेत सुनाउनु भएको छ ।

ललितपुरको च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गर्नुभयो । ओलीले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गर्नुभयो ।

बैठकमा ओलीले भन्नुभयो- हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्त्व दिनुपर्छ । पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।

पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको पनि टिप्पणी गर्नुभयो ।

बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठे लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स-एमाले र नेपाली काङ्ग्रेससँगको गठबन्धनको आवश्यकता, औचित्य र अवसर लगायतका विषय छन् । यस्तै गठबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रायोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण लगायतका विषयवस्तु रहेका छन् ।

राजनीतिक प्रतिवेदनमा यस्तो निश्कर्ष

नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चरम अवसरवादी चरित्र, आडम्बर र द्धैध तथा अस्थिर चरित्रका कारण सत्ता समिकरण फेरबदल गर्नुपरेको किटानी गरेको छ । केन्द्रीय कमिटीको आठौं बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा यस्तो निश्कर्ष राखिएको हो ।

‘माओवादीसँगको सहकार्यलाई प्रभावकारी, परिणाममुखी र सफल बनाउँदै मुलुकलाई नयाँ पनकास दिने हाम्रो इमान्दार प्रयत्न थियो । सातौं बैंकका निर्णयहरुमा हाम्रा तिनै भावनाहरु प्रतिबिम्बित भएका छन । तर माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ मा हाबी अवसरवाद, अस्थिर सोच, आडम्बर र दाउपेचका कारण राजनीतिक स्थायित्व, सुशासन र बिकाश तथा जनतामा आशा भरोसा जगाउने हाम्रो इमान्दार प्रयाश सफल हुन पाएन । त्यसपछि गत असारदेखि नयाँ राजनीतिक यात्रा प्रारम्भ भएको छ,’ अध्यक्ष ओलीको प्रतिवेदनमा भनिएको छ, ‘यस बैठकमा हामी यस राजनीतिक यात्राको औचित्य, आवश्यकता र यसले सिर्जना गरेका अवसरहरु, मुलुकको राजनीतिमा देखापरेका नयाँ चुनौती, बदलिँदो बिश्व परिवेश र भूराजनीतिक तथा निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि हामीले गर्नुपर्ने कामहरुको प्राथमिकतामा केन्द्रित रहेर गम्भीर छलफल गर्नैछौं ।’

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले तात्कालिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको गलत नीति र क्रियाकलापका कारण बाह्य सम्बन्धमा झनै ठैलो बिचलन आउन थालेको र समाजमा चरम नैराश्य देखा परेकोले उल्लेख गर्नुभएको छ । ‘परिवर्तनबिरोधी शक्तिहरु खुलेआम संबिधानलाई चुनौती दिँदै लोकतान्त्रिक गणतन्त्रको बिरोधमा उत्रिने र दिनै तोकेर ‘राजा फर्काउने’ अभिब्यक्ति दिन थाले,’ अध्यक्ष ओलीको प्रतिवेदनमा भनिएको छ ।