गैर पत्रकाहरु समावेश गरेर बलपूर्वक निर्वाचन गराउन खोजिए प्रेस चौतारी सिन्धुलीले निर्वाचनको कुनै पनि गतिविधि सञ्चालन गर्न नदिने

सिन्धुलीः गैर पत्रकाहरु समावेश गरेर नेपाल पत्रकार महासंघ केन्द्रले सदस्यताको नयाँ सुची समावेश गरेको भन्दै नेपाली पत्रकारहरुको अग्रणी संस्था प्रेस चौतारी नेपालले पत्रकार महासंघको सिन्धुली शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । केन्द्रीय कार्यसमितिले सार्वजनिक गरेको सदस्यता नामावलीलाई सच्याउँदै गैर पत्रकारहरुलाई नहटाएसम्म निर्वाचनका कुनै पनि कार्यक्रमहरु अगाडि बढ्न नदिइने जनाउँदै चौतारी सिन्धुलीले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष कृष्णहरि घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै तालाबन्दी गरेको जनाएको छ।

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यताका विषयमा सिन्धुली जिल्लाका क्रियाशील पत्रकार सम्बद्ध संघसंगठनहरुका अध्यक्ष एवम् प्रतिनिधि र नेपाल पत्रकार महासंघ सिन्धुली बिचमा सहमति  भई पत्रकार महासंघ जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरी प्रदेशलाई पठाएको सदस्यता सङ्ख्यामा आफू खुसी महासंघको केन्द्रले थप गरेर सार्वजनिक गरेपछि प्रेस चौतारी नेपाल सिन्धुलीले ध्यानकर्षणपत्र सहित तालाबन्दी गरेको जनाएको छ।

जिल्ला शाखाले गरेको सर्वसम्मत नामावली सिफारिसमा मनपरी गर्ने, आफूखुसी सङ्ख्या थप्ने, जालझेलपूर्ण काम गर्ने महासंघ प्रदेश र केन्द्रीय समिति खेद व्यक्त गर्दै सो कामलाई अस्वीकार गर्ने प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष वाई.पी. विनयले बताए ।  उनले सिन्धुली शाखाले सर्वसम्मत पठाएको नामावली अनुसारको सदस्यता कायम नभएसम्म  सिन्धुली शाखा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने, थपिएको भनिएको सदस्यता सङ्ख्यालाई आधार मानेर मङ्सिर २८ गते तोकिएको निर्वाचन हुन नदिने विनयले चेतावनी चेतावनी समेत दिए। महासंघ केन्द्रीय समितिले गरेको निर्णय तत्काल नसच्चाएर सार्वजनिक सदस्यता सूचीकै आधारमा बलपूर्वक निर्वाचन गराउन खोजिए प्रेस चौतारी नेपाल सिन्धुली शाखाले निर्वाचनको कुनै पनि गतिविधि सञ्चालन गर्न समेत नदिइने उनले बताए ।