रवि लामिछाने प्रति व्यङ्ग्य गर्दै एमालेका सचिव योगेश भट्टराईले भन्नुभयो-सिंहलाई सिंहकै रूपमा रहन दिऊँ, इकोसिस्टम नबिगारौँ

काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताउनुभएको छ ।  प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदैन भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू सिंह हुँ भन्ने ठानेपछि बिग्रिने बताउनुभएको छ ।

‘जब मानिसले आफूलाई सिंह ठान्छ तब कुरा बिग्रन्छ’, सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।  मानिसले आफ्नो मौलिक चरित्र गुमाए पछि दम्भी र घमण्डी हुने भट्टराईको दाबी छ । ‘उसले मानिसको मौलिक चरित्र गुमाउँछ अनि, ऊ दम्भी र घमण्डी बन्छ, हिंस्रक बन्छ, कमजोरमाथि जाइलाग्छ, नियम कानुन मान्दैन, अरूको अस्तित्व अस्वीकार गर्छ’, उहाँले लेख्नु भएको छ । 

सिंहको चरित्र लोकतन्त्रले नस्विकार्ने उहाँले उल्लेख गर्नुभएको छ । ‘लोकतन्त्रले यो चरित्रलाई अस्वीकार गर्छ, त्यसैले मान्छेलाई अझ राम्रो मान्छे बनाऊ, सिंहलाई सिंह कै रूपमा रहन दिऊँ, इकोसिस्टम नबिगारौँ’, उहाँले लेख्नु भएको छ ।