सिन्धुली:जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको गौमती माध्यमिक विद्यालयमा जिल्लामैं पहिलो पटक गणित सम्बन्धी शैक्षिक प्रदर्शनी गरेको छ । सिन्धुलीको शिक्षा क्षेत्रमा गरिएको यो प्रदर्शनीलाई निकै महत्वका साथ लिएको बताउँदै जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले सामाग्रीहरु निर्माण गर्ने विद्यार्थीको शिप र जाँगरको खुलेरै प्रशंसा गरिन् । प्रमुख जिल्ला अधिकारी भरत खनालले सिन्धुलीको शिक्षामा क्षेत्रमा गौतमी माध्यमिक विद्यालयले नौलो काम गरेको र त्यसबाट विद्यालयलाई आम्दानी पनि हुने बताउँदै सकारात्मक कामलाई सबैले हौसला प्रदान गर्न सुझाव दिए ।
जिल्ला शिक्षा समन्वय प्रमुख निर्मल घिमिरेले गौमतीका शिक्षक विद्यार्थीको मेहनतबाट निर्माण गरिएका गणित शैक्षिक सामाग्रीले अन्य विद्यालयका लागि प्रयोग सामाग्री भएको बताउँदै नमुना विद्यालयले नमुना काम गरेकोमा प्रशंसा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नेकपा एमाले सिन्धुलीका वडाध्यक्ष कर्ण घिसिङले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा कुनै पनि संझौता नगर्ने बताउँदै शिक्षक र विद्यार्थी मेहनतको प्रशंसा गरेका थिए । कार्यक्रमको समापनपछि शिक्षक कविन्द्र गौतम समाजिक सञ्जालमा लेख्छन्ः गौमति मावि माढीबजार, सिन्धुलीका मेरा प्रिय मित्रहरू गणित शिक्षक बलराम खड्का र प्रधानाध्यापक दिपक बुढाथोकीको गणित विषयप्रतिको रुझान, सक्रियता र सिर्जनात्मक सोच सहितको मौलिक कार्यक्रम हेर्दा आनन्द र उत्साहको सञ्चार भएको छ ।
गणित विषयलाई सबैले बुझ्ने गरि मूर्त सामग्रीको प्रयोग गरेर सजिलोसँग खेलाउँदै, रमाउँदै, सोचाउँदै सिकाउन सकिन्छ भन्ने कुरालाई व्यवहारबाटै पुष्टि हुनेगरी असाधारण मेहनत गर्नु भएकोमा गणितका अथक जोदाह योद्धा बलराम खड्काप्रति हृदयदेखिको सलाम ! तपाईंको नेतृत्वमा विद्यार्थीहरू समेतको संलग्नतामा निर्माण भएका शैक्षिक सामग्रीहरूको चाङ, ती सामग्रीको प्रयोग र उपयोगिता बारेमा तपाईंका विद्यार्थीहरूको सुस्पष्ट बुझाई र व्याख्या अनि तपाईंको विद्यालयका प्रअ र अन्य सहकर्मी साथीहरूले गणित विषयको उन्नयनमा देखाउनु भएको सहयोग, सद्भाव र समर्पण लाई आज नजिकबाट बुझ्ने अवसर प्राप्तभयो । थोरै बजेटमा काठ लगायतका सामाग्रीहरूको प्रयोग गरेर, दक्ष मिस्त्री, उत्साही विद्यार्थी , सहयोगी अभिभावकहरूको संलग्नतामा पचासौँ भेराइटीका सस्ता, गुणस्तरीय र बहु उपयोगी गणितीय शैक्षिक सामग्री निर्माण, उत्पादन गरेर बिक्रीवितरण समेत गर्न सक्ने अवस्थामा पुगेको देख्दा सकारात्मक सोच, सिर्जनात्मक बिचार र मौलिक चिन्तनको तागत कस्तो हुँदोरहेछ, जान्न सकियो । सामुदायिक विद्यालयमा वर्षैपिच्छे विभिन्न शीर्षकमा दशौँ लाख खर्चेर विद्यार्थीको सिकाई उपलब्धिमा हात लागेको प्रतिफलसँग यो सानो लगानीले दिएको र दिने प्रतिफलको मनमनै तुलना गरें ।
गौतमले अगाडि लेखेकाछन्ः सीसी क्यामेरा, नहुँदा नि हुने काम चल्ने भौतिक संरचना, बजेट सक्ने मेसोका प्रअ, विव्यस र शिक्षकलाई बराल्ने बराला बर्गका फजुल कार्यक्रमहरूका सट्टा यसरी सिकारुको सिकाइमा सीधै सम्बन्ध राख्ने कामहरु गर्नु प¥यो । अव प्रत्येक विद्यालयमा गणित प्रयोगशाला बनाउन सम्बन्धित निकायहरूले मूर्त कार्यक्रम ल्याउन् ।
सन्देश जनप्रिय साप्ताहिकबाट