माओवादी केन्द्र मुलुकको सुशासनमा प्रतिबद्ध छ: सामाजिक विकास मन्त्री मोक्तान

मकवानपुर : नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले माओवादी केन्द्र मुलुकको सुशासनमा प्रतिबद्ध भएको बताएकी छन् ।  मन्त्री मोक्तानले सरकारमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको बताइन् । नेकपा (माओवादी केन्द्र) कैलाश गाउँपालिका स्तरीय जनवर्गिय संगठन र मोर्चाहरु पालिका स्तरीय संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले माओवादी केन्द्रको नेतृत्वमा भएका आन्दोलनको उपलब्धी गणतन्त्र भएको र गणतन्त्रको विकल्प नभएको बताइन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् मकवानपुरको जिल्ला इन्चार्ज विजय गौतमले माओवादीले सुशासनलाई समाजवाद यात्राको एउटा अभिन्न अंगको रुपमा लिएको चर्चा गरे । 

त्यसैगरी माओवादी केन्द्रका जिल्ला संयोजक भीम पाख्रिनले जनवर्गीय संगठनले पार्टी र सरकारको खबरदारी र गरेका राम्रा कामको प्रचार एकसाथ गर्नुपर्ने बताए । 

संयुक्त भेलाले सुजाता फुयाँलको अध्यक्षतामा २५ सदस्यीय अनेमसंघ (क्रान्तिकारी), दिलिप मोक्तानको अध्यक्षतामा २९ सदस्यीय योङ कम्युनिष्ट लिग नेपाल, रामकृष्ण थिङको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गठन गरेको छ । 

त्यसैगरी विनोद लोप्चनको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल खेलकुद महासंघ, सुरेश घिमिरेको अध्यक्षतामा १३ सदस्यीय रिटर्नी सेन्टर नेपाल, राम शरण सुनारको संयोजकत्वमा ७ सदस्यीय नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गठन गरेको छ । 

यसैगरी जनक लोप्चनको अध्यक्षतामा २५ सदस्यीय तामाङ राष्ट्रिय मुक्ति मोर्चा, रामचन्द्र चेपाङको अध्यक्षतामा १५ सदस्यीय चेपाङ राष्ट्रिय मुक्ति मोर्चा र शेरबहादुर दर्लामीको अध्यक्षतामा ९ सदस्यीय मगर राष्ट्रिय मुक्ति मोर्चा गठन भएको छ ।  कार्यक्रममा वाइसियल नेपाल मकवानपुरको इन्चार्ज कमल गककाउले, माओवादी केन्द्रका प्रदेश सल्लाहकार लालसिंह गुरुङ, पालिकाका पार्टी अध्यक्ष बाल कुमार मल्ल लगायतको आतिथ्यता रहेको थियो ।