नेकपा एमाले सिन्धुलीका आठौं अधिवेशन आउनै लाग्दा अहिले यो वा त्यो अध्यक्ष बन्छ वा आउँछ भनेर बिभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ । झण्डै २ महिना पछि हुने सिन्धुली एमालेको अधिवेशनबाट नेतृत्व छ सर्वसम्मत नेतृत्व छनोट नहुने र त्यसपछि एमाले चिरा चिरा परेर गाउँ पस्छ भन्नेहरूको अनुमान पूणर्तः गलत सावित गराउन पनि जिल्ला नेतृत्वहरुले विगतमा आफुबाट भएका कमी कमजोरीलाई स्वीकार्दै अगाडि बढ्नुपर्ने अबस्था देखिएको छ ।
जिल्ला अधिवेशनपछि एमालेमा विग्रहको आगो दन्कन्छ र नेताहरू छताछुल्ल भएर खेमा खेमामा विभाजित भएको फाइदा उठाउन सकिन्छ कि भन्नेहरू सिन्धुलीमा प्रशस्तै छन् । अघिल्लो जिल्ला अधिवेशनमा दुई धारमा बिभक्त भएको एकताबद्ध एमालेको पंक्ति देखेर उनीहरु अचम्मित पनि छन् । एमाले सिन्धुलीमा समस्यै समस्या छ, तर सार्वजनिक स्थानमा नेता कार्यकर्ताहरुले नेतृत्वको आलोचना गर्दैनन् तर मातहत कमिटीमा उनीहरुमाथि प्रश्न भने निरन्तर उठिरहेको छ ।
एमाले बागमती प्रदेशको प्रचार विभाग बैठकमा सिन्धुलीका पार्टी नेतृत्वमाथि प्रश्न मात्रै उठेन, जिल्ला इन्चार्जलाई जनसंगठनहरुले अहिलेसम्म नचिनेको र पार्टीमा उहाँको भूमिका सही नभएको तथ्य खोलियो । जबस मोर्चाको संयुक्त बैठकमा मोर्चाका इन्चार्ज भानुभक्त ढकालले सिन्धुलीको एमाले नेतृत्वलाई भनेका थिएः पहिला तपाईहरु बिधीमा चल्नुस् त्यसपछि सबैकुरा ठिक हुन्छ । उनको त्यो अभिव्यक्ति एमाले सिन्धुलीमा देखिएको दुई समूह तर्फ इंकित थियो । सिन्धुली एमाले भित्रको दुई समूहका गुटगत गतिविधीले आम कार्यकर्ताहरुलाई निराश बनाईरहेको छ ।
सिन्धलीको एमाले मात्रै होइन, माओवादी केन्द्रमा सांगठानिक विधी पद्धति र सामूहिक नेतृत्वको प्रश्न अहिले पार्टी हेर्डवार्टरसम्म पुगेको छ । व्यक्तिवादी प्रवृति हाबी भएको र पार्टीभित्र गुटगत प्रवृत्ति मौलाएको माओवादी केन्द्रको यो लडाईमा उपमहासचिव हरिवोल गजुरेल र पोलिटव्यूरो सदस्य राजन दाहाल बीच चलिरहेको छ । चार महिने अधियानबाट चुलिंदै गएको माओवादी केन्द्र सिन्धुलीको बिवाद अहिले पार्टी केन्द्रको सचिवालयमा बिचाराधिन छ । त्यस यता माओवादी केन्द्र सिन्धुलीको जिल्ला कमिटी बैठकनैं बसेको छैन । केही दिन अगाडि माओवादी जिल्ला इन्चार्ज दाहालले सच्याउन लाग्नेलाई स्वीकार्ने तर सक्काउन लाग्नेसँग लड्ने सामाजिक सञ्जाल मार्फत उद्घोष गरेका थिए । उनको यो सामाजिक सञ्जालको पोष्टाइले माओवादी केन्द्र भित्रको आन्तरिक लडाईको खाडल कति गहिरो छ भन्ने देखाउँदछ । दाहाल निकट एक नेता भन्छन्ः एमाले भन्दा माओवादी केन्द्रका नेता कार्यकर्ताको शैली फरक छ । किनकी एमाले नेता कार्यकर्ता बैठकमा नेतृत्वको आलोचना गर्छन् तर माओवादी नेता कार्यकर्ताहरु सार्वजनिक स्थलमैं ।

सिन्धुलीको एमाले र माओवादी केन्द्रको भन्दा पृथक छैन, नेपाली कांग्रेस सिन्धुलीको अबस्था पनि । कांग्रेस सभापति उपेन्द्रकुमार पोखरेलले पार्टीको बैठक नराखेको धेरै समय भयो । अहिले एमाले र माओवादीले जस्तै कांग्रेसले पनि मिसन ८४ भन्दै जागरण अभियान चलाईरहेको छ । पार्टी सभापति पोखरेलबाट अभियानलाई सहयोग नभएको गुनासो अहिले कांग्रेस नेताहरु चिया पसलमा टिप्पणी गरिरहेका छन् । केही समय अगाडि घटेको महिला कुटपीट एवम् बन्धक प्रकरणमा पार्टी नेतृत्व कमजोर भएकै कारण संलग्नहरु जेल चलान भएको सन्देश अहिले कांग्रेस नेता कार्यकर्ताहरुनै प्रवाह गरिरहेका छन् ।
आफ्नै घरमा आगो दन्किंदै !
शहर जलिरहँदा निरो बाँसुरि बजाइरहेका छन् भन्ने रोम साम्राज्यको यो भनाई सिन्धुलीका एमाले, कांग्रेस र माओवादी केन्द्रका नेताहरुको चरित्र सँग ठ्याक्कै मेल खान्छ । नेताहरु सार्वजनिक स्थलमा विरोधी पार्टीको गलत प्रवृत्तिको चियो चर्चो गर्छन् । उनीहरु सकिए आफु बलियो हुने डिङ हाँक्छन् । तर आफ्नै पार्टीभित्र भुसा लागेको आगोझैं सल्किरहेकोछ, असन्तुष्टिका ज्वारभाटाहरु । उनीहरु त्यसलाई देख्दैनन् । आफ्नो कमजारी स्वीकार्दैनन् तर अन्य दलमा भएको खराब प्रवृत्तिको भने चर्चा गरिरहन्छन् । पार्टीमा नेताहरु बीच झम्टाझम्टी होस् र गलत सन्देश फैलियोस् भन्नेहरूको मुखमा कसैले बुझो लगाउन सकिरहेका छैनन् यतिबेला । नेता कार्यकर्ताहरूले फेसबुकमा असन्तुष्ट लेखुन् र त्यसमा झन आक्रोशित हुनेगरी प्रतिक्रिया दिंदै उक्साउन सकिन्छ कि भन्नेहरू पनि लस्कर लागिरहेकै छन् ।
सिन्धुलीका दलहरु भित्र कुनै न कुनै कोणबाट गडबडी होस् र जनतामा निरासा छाओस् भन्ने दक्षिणपन्थी अवसरवादी र सांगठनिक अराजकताका हिमायतीहरूको सपना निरन्तर जारी छ र आफूलाई अब्बल ठान्ने सिन्धुलीका नेताहरु त्यसैका मतियार बनिरहेका छन् ।
वैचारिक र अनुशासित छैनन् नेता कार्यकर्ता
कम्युनिष्ट पार्टीहरु खासगरी एमाले र माओवादी केन्द्रका नेता र कार्यकर्तामा वैचारिक र अनुशासित पक्ष बलियो हुनुपर्छ भनिन्छ । तर पछिल्लो समय ती दलमा देखिएको अन्तरकलह र जनसंगठन वा भातृ संगठनहरु आफ्नो पक्षमा पार्नका लागि हुने गरेका रस्साकस्सीले दुबै दलका नेता कार्यकर्ताहरुमा बिचार र अनुशासन भन्ने कुरा हराउन थालेको छ । दुबै दलका एकखाले निष्ठावान नेता कार्यकर्ताहरु पनि छन् । यो पक्ति न कुनै स्वार्थमा डुब्छ न त कुनै गुटबन्दीबाट प्रभावित हुन्छ । न पार्टी सरकारमा पुग्दा फुर्कन्छ न त सरकारबाट बाहिरिँदा आत्तिन्छ । सिद्धान्त र विचारको भट्टीमा खारिएको ताकतदार पंक्तिहरूको अविचलित योगदान दिनेहरु अहिले एमाले र माओवादीमा पछाडि पारिएका छन् । नेकपाको स्थापनादेखि अगाडि बढेको सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा अग्रज नेताहरूले सिकाएको संस्कारलाई सिन्धुलीको पछिल्लो एमाले र माओवादीको नेतृत्वले निरन्तरता दिन सकेन ।
आफुलाई लोकतन्त्र र प्रजातन्त्रको ठेकेदार सम्झने तर जनताका पिर मर्काबाट बिमुख भएको नेपाली कांग्रेस सिन्धुलीको अबस्था पनि एमाले र माओवादी पार्टी भित्रको भन्दा फरक छैन । एक नेता अर्को नेताको सार्वजनिक स्थलमा कत्लेआम गर्ने प्रवृत्ति कम्युनिष्ट दलहरुको तुलनामा बढि छ । किनकी कांग्रेसको सांगठनात्मक पद्धति र र सिकाई पनि केन्द्रीयतामा आधारित छैन । कांग्रेसमा जसललाई जे लाग्छ, त्यही बोल्ने र गर्ने छुट छ । उनीहरुमागि गंभीर सांगठानिक आघात गरेपनि कारबाही हुँदैन । अहिले कांग्रेसमा विकास भएको सांगठानिक पद्धतिलाई एमाले र माओवादीले पछ्याइरहेका छन् ।
दलहरु मित्र मौलाइरहेको त्यस्ता गुटगत तमासाले कतिपय अवस्थामा केही व्यक्ति वा नेतालाई राम्रैसँग फाइदा पुगेको छ, कतिपय अवस्थामा दुर्घटना भएको तीतो इतिहास छ । तर, व्यक्तिगत इगोले सिर्जित गुटहरू पार्टीभित्र सुहाउने विषय थिएनन् । बिचारले भन्दा व्यक्तिगत टक्करले स्थापित गर्न खोजिएको गुटलाई यतिबेला सिन्धुलीका दलहरु भित्र मलजल मिलिरहेको छ । पार्टीगत हितमा आम नेता कार्यकर्ता स्पष्ट उत्रिए । पार्टी जोगाउन भन्दा पनि अहिले आफ्नो गुटको नेता जोगाउन एसम्यानहरु उत्रिएकै कारण सिन्धुलीका ठूला दलका नेताहरु जनताका बीचमा आलोचनाको पात्र बन्न थालेको तथ्यलाई भुल्नु हुँदैन ।
यो समाचार बुधवारको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ प्रकाशन गरेको छ ।