महान शहीद ऋषि देवकोटा, गिरफ्तारी र हत्या अघि-पछिका दिनहरु

आज फागुन १२ गते । शहीद ऋषि देवकोटा (कमरेड आजाद) को स्मृति दिवस । यो दिन आउँदा मलाई पञ्चायती व्यवस्थाका उराठपूर्ण विगतको सम्झना हुन्छ । 

जतिबेला म तत्कालीन नेकपा (माले) को जनकपुर– सगरमाथाका विभिन्न जिल्लाहरूलाई लिई बनाइएको ‘मध्य दक्षिण’ क्षेत्रको पार्टी सचिवको जिम्मेवारीमा थिएँ । आजाद त्यसबेला नेकपा (चौम) को चर्चित नेता हुनुहुन्थ्यो, जोसँग २०३५ को आखिरीतिर भेट्दा छरिएर रहेका यस्ता क्रान्तिकारीहरूलाई एउटै पार्टीमा गोलबन्द गर्न पाए ‘क्या काइदा हुन्थ्यो’ भन्ने लोभ र ईर्ष्याले ममा बास गरेको थियो ।

परिचयका प्रारम्भिक दिनदेखि नै कमरेड आजादलाई मैले पार्टी र क्रान्तिप्रति समर्पित, दृढ र साहसी योद्धाको रूपमा पाएँ ।

२०३६ को भदौ २४ गते तत्कालीन पाँच वाम समूहहरूद्वारा ‘जनमतसंग्रह’लाई निष्पक्ष र धाँधलीरहित बनाउन पाँच पूर्वसर्तहरू अघि सारी देशव्यापी जनप्रदर्शनको आयोजना भयो । त्यसमध्येको एउटा केन्द्र जनकपुरलाई बनाइएको थियो, जहाँ १ लाखभन्दा बढी जनता जनप्रदर्शनमा उत्रिएका थिए । यस किसिमको शक्ति प्रदर्शनपछि त्यस क्षेत्रका प्रमुख हस्ती मानिनुहुने कमरेड आजादको खोजी विशेष गम्भीरताको विषय बनेको थियो । 

तत्कालीन समयमा नेकपा (चौम)को त्यस क्षेत्रका प्रमुख संगठक रहनुभएका आजादले २०३६ कै मध्यदेखि आफ्नो पार्टीभित्र वैचारिक संघर्ष गर्नुभएको थाहा पाएपछि मैले उहाँसँगको सम्पर्कलाई अझ नियमित र व्यवस्थित बनाउने प्रयत्न गरेको थिएँ । तर, केही समयपछि उहाँले पार्टीबाट विद्रोह गरी ‘विद्रोही कम्युनिस्ट एकता केन्द्र’को स्थापना गर्नुभयो । फेरि २०३७ को मध्यतिर मैले धनुषाको कचुरी गाउँको भूमिहीन किसानहरूको बस्तीमा उहाँलाई भेटेँ । जहाँ चमार जातिका किसानहरूका स–साना बुकुरा भएको बस्तीमा मध्यरातमा भेट्दा उहाँ पुरानो, कतैकतै फाटेको धोती र मैलो हुन थालेको गोलगञ्जीमा हुनुहुन्थ्यो ।

मध्यरात, भूमिहीन किसानको सानो झुप्रो, त्यसभित्र सानो टुकीको मधुरो उज्यालो, अत्यन्त सामान्य पहिरनभित्र रहेको दुब्लो–पातलो शरीर तर तेजिला आँखा–आजादको त्यसबेलाको यो रूप आज पनि मेरो आँखावरिपरि आइरहन्छ । त्यहीँ बसेर केही गृहकार्यपछि ‘विद्रोही एकता केन्द्र’ विधिवत् नेकपा (माले)मा सम्मिलित हुने कुराको टुंगो लगाएर बिहान उज्यालो हुने बेलामा बिदा भएका थियौँ । त्यसक्षेत्रमा रहँदा उहाँ र मेरोबीच कमरेडली मित्रता गाढा बन्दै गइरहेको महसुस मैले गरेको थिएँ ।

२०३७ फागुन १० गते राति उहाँलाई प्रहरीले गिरफ्तार गर्‍यो र त्यसको पर्सिपल्ट गोली ठोकी मारेर सुकेका मुठाहरू जलाएर डढाइएछ । त्यसरी क्रान्तिको मसाल बोकेर सुन्दर सपनाहरू बोकी अघि बढ्दै गरेका एउटा स्पप्नदर्शी क्रान्तिकारीको जीवन समाप्त गरिएको थियो ।

तत्कालीन मालेको ‘मध्य दक्षिण’ क्षेत्रीय कमिटीले तत्कालीन महोत्तरी–सर्लाही–सिन्धुली सीमान्त जिल्ला कमिटीलाई कमरेड आजादको गिरफ्तारी र हत्या सम्बन्धमा जाँचपड्ताल गरी रिपोर्ट तयार गर्न निर्देशन जारी गर्‍यो ।

जुन रिपोर्ट उहाँको गिरफ्तारी र हत्या गरिएको ठाउँ सिन्धुली जिल्लाको भिमान बजारमा उहाँका तीन दिनहरू कसरी बिते भन्ने विषयमा प्रत्यक्षदर्शीहरूको रिपोर्टमा आधारित छ । जसलाई २०३८ माघमा तत्कालीन मालेको केन्द्रीय समितिको राजनीतिक पत्रिका ‘मुक्तिमोर्चा’ मा प्रकाशित गरिएको थियो ।

१० फागुन २०३७ राति ।

‘माडसाब, मध्यराततिर आइपुग्नुभयो,’ लालबहादुरकी श्रीमती भन्छिन्, ‘कतातिरबाट आउनुभएको हो, थाहा भएन ।’

२०३७ साल फागुन ११ गते

गिरफ्तार हुनुभन्दा एक दिनअघि गिरफ्तार भएको ठाउँबाट केही टाढा एक परिचित किसानकहाँ बसी त्यस ठाउँमा राति पुग्नुभएको थियो । उहाँले सम्भावित गद्दारीको कुनै शंकै नगर्नुभएको बुझिन्छ । स्थानीय परिस्थितिको जटिलताका बारेमा पनि उहाँ जानकार हुनुहुन्नथ्यो । उहाँ एक्लै र निहत्था हुनुहुन्थ्यो । 

११ गतेको बिहान, दिउँसो र साँझ उहाँले लालबहादुरकै घरमा बिताउनुभयो । बिहान र दिउँसो कसैसँग भेटघाट गर्नुभएन । साँझ भेटघाटका निम्ति एक जनालाई लालबहादुरकी श्रीमतीमार्फत बिहान ६–७ बजेतिर रामबहादुरलाई लिन लालबहादुरलाई पठाउनुभयो । रामबहादुर लालबहादुरको भाइ थियो । ऊ कमरेड आजाद बस्नुभएको ठाउँबाट करिब तीन माइल पूर्व सुनखानी भन्ने गाउँमा बस्थ्यो ।

त्यस दिन दिउँसो लालबहादुरको घर माथिपट्टि भोटे सार्कीको घरमा सुँगुर काटिएको कुरा कमरेड आजादले पनि थाहा पाउनुहुन्छ । लालबहादुरका परिवारले पनि एक छाक मासु खान सकून् र आफूलाई पनि भइहाल्छ भन्ने विचार गरी एक बिसौली मासुका निम्ति उहाँ ११ रुपैयाँ झिकी लालबहादुरकी श्रीमतीलाई दिनुहुन्छ । मासु दिन बसेका मानिसहरूमध्ये केहीलाई लालबहादुरकी श्रीमतीले हाताहाती, त्यो पनि नयाँ–नयाँ नोट गनेर एक बिसौली लग्दा अलिकति अस्वाभाविक लाग्छ तर शंका भने उब्जिएको हुन्न ।

११ गतेकै साँझ

रामबहादुरलाई लिएर लालबहादुर फर्किसकेका हुन्छन् । सामान्य औपचारिकता पूरा गरिसकेपछि कमरेड आजाद खाना खान थाल्नुहुन्छ । त्यत्तिकैमा उहाँले कुराकानीका निम्ति डाक्नुभएको अर्को मानिस पनि आइपुग्छन् । खाना खाइसकेपछि उहाँ झ्यालबाट मुख चुठ्नुहुन्छ र थाल सफा गर्नुहुन्छ । 

गुन्द्रीमा रामबहादुर, लालबहादुर र अर्को व्यक्तिसमेत बसिसकेपछि आजादले स्थानीय हालखबर सोध्दै कुरा थाल्नुहुन्छ । अन्य कम्युनिस्ट समूहप्रति आफ्नो सोचाइ बताउनुहुन्छ । रामबहादुर आफूलाई उत्तम दर्जाको क्रान्तिकारी सावित गर्न जेलबाट भागेको आदि कुराका विषयमा आफ्नो प्रशंसा आफैँ गर्न थाल्छ । ऊ खुबै खुसी र केही उत्तेजित देखिइरहेको हुन्छ । कमरेड आजादलाई भेट्न उसले जोडदार प्रयत्न गरेको र यसरी भेट भएकोमा आफू ज्यादै खुसी भएको देखाउन पनि ऊ पछि पर्दैन ।

कुरा सुरु भएको झण्डै १५ मिनेट जति भएको हुँदो हो ।  त्यत्तिकैमा, थपर्‍याङ मुन्तिर झिलिल्ल टर्च लाइट बल्छ । टर्चको उज्यालो कुराकानी गरिएको ठाउँतिरै आउँछ ।  ‘को हो ?,’ हपार्दै सोधिन्छ जवाफ केही आउँदैन । बाहिर दुई जना मानिस टर्च बालिरहेका र दुई जना संगीनसहितको बन्दुकले कुराकानी भइरहेको ठाउँलाई निशाना सोझ्याइरहेको सबै जनाको आँखामा एकैसाथ पर्छ । 

सेकेन्ड पनि बितेको हुन्न घत्र्याक्क–घुत्रुक्कको आवाजसँगै बन्दुक सोझ्याउँदै दुई जना मानिस थपर्‍याङ (घरको तला) माथि उक्लिइसक्छन् । 

‘हर्कत गरे गोली ठोकिदिनू,’ सईको कड्किँदो आदेशसँगै राइफल खुत्रुक्क गरेर बजेको सुनिन्छ । ‘हातमाथि उचाल,’ आत्मसमर्पणको आदेश दिँदै राइफलधारीहरू अघि बढ्छन् । ‘ए ओर्ली ।’ रामबहादुर लालबहादुरतिर संकेत गरिएको केही नरम स्वरसँगै दुवै हतपत थपर्‍याङबाट ओर्लन्छन् । संगीनको टुप्पोले बिस्तारै छुँदै तेस्रो व्यक्तिलाई ‘उत्रनू’ भन्ने संकेत गर्छ । उक्त व्यक्ति पनि हत्तपत्त ओर्लिन्छ । यसैबीच कमरेड आजादको हात बाँधिन्छ र भर्‍याङतिर ल्याइन्छ ।

‘एउटा हात खोल,’ कमरेड आजादको रोविलो स्वर । ‘खोल्दे,’ सईको आदेश । एउटा हात खोलिन्छ । उहाँ तल ओर्लनुहुन्छ । तत्काल पुलिसहरू उहाँलाई लिएर अघि बढ्छन् । करिब ३–४ मिनेट हिँडाएपछि एक कुख्यात दलाल (उपप्रधानपञ्च) इच्छाबहादुरको घर आउँछ । एकछिन त्यहाँ रोकिँदै उहाँलाई अघि बढाइन्छ । १५–२० मिनेटजति बाटो लागेपछि कमलाको किनारमा १२–१५ भन्दा बढी नै लाइटहरू बलेको देखिन्छ । सम्भवतः दलालहरूको संख्या थपिएको हुनुपर्छ ।

भिमान बजार, ११ फागुनकै राति ९ः३० तिर

‘भिमान बजारमा चहल–पहल निकै कम भइसकेको हुन्छ । होटलहरू मात्र खुला छन् । त्यस्तैमा झुरूमुङ गोल परेर हिँडेका पुलिसहरूमाझ ‘उहाँ’ ठमठम हिँडिरहनुभएको मैन्टोलको उज्यालोमा अलिकति टाढाबाट देख्छु । पहिले चिन्दिनँ । फेरि चिन्छु र झस्कन्छु । अँध्यारोतिर पुलिसबाहेक अरू पनि मानिस थिए, तर तिनीहरू छरिएर यताउती लाग्दै थिए । उहाँको खुट्टामा चप्पल थिएन । लुङ्गी र मैलो कैलो रङको कमिजजस्तो लगाएको देखिन्थ्यो । टाढाबाट राम्रो ठम्याउन सकिनँ,’ एक प्रत्यक्षदर्शी महिला भन्छिन् । 

आजाद पक्राउ पर्नुभएको खबर १२ गते बिहान ७–८ बजेसम्ममा वरपरका गाउँहरूमा पुगिसकेको हुन्छ । सबै चिन्ता, आशंका र अनिश्चितता लिएर अति सतर्कताका साथ स्थानीय दलालहरू र पुलिसहरूका हरेक गतिविधिमा केही खोजिरहेका हुन्छन् । प्रत्येकको आँखामा हेर्दा एउटा प्रश्न उठिरहेको भान हुन्छ, ‘अब के होला ?’ 

१२ गते बिहान १० बजेतिर

‘हामी स्कुल जान आउँदै थियौँ । चौकीबाहिरको ढोकामा संगीन चढाएको बन्दुक लिएर पुलिस बसिरहेको थियो । भित्र गुन्द्रीको बार थियो । कसलाई राखिएको छ भन्ने थाहा पाएनौँ,’ स्कुले विद्यार्थीहरू भन्छन् ।

उही दिन दिउँसो

‘माड्साबलाई बाहिर निकालिँदै थियो । उहाँको हातखुट्टा र कम्मर सबै ठाउँमा फलामको सिक्रीले बाँधिएको थियो र एक जनाले कम्मरको सिक्रीलाई समातिराखेको थियो । पिसाब गराउन निकालेको रहेछ,’ एक प्रत्यक्षदर्शी किसानको भनाइ ।

उही दिन, छक्कालतिर आजादलाई गिरफ्तार गरी ल्याइएको थाहा पाएर एक जना महिला हुर्रिंंदै चौकीमा पुग्छिन् र उहाँलाई खोइ कहाँ राखेको छ भनेर पटक–पटक गरी तीन जना पुलिससँग सोध्छिन् । पहिलोले जवाफमा भन्छ, ‘हामीले ऋषिलाई खोइ कहाँ पक्रेका छौँ ? त्यसलाई भेटेको भए त मासु खान्थ्यौँ ।’ तेस्रोले भन्छ, ‘राख्न त यहीँ राखेको छ, तर भेट गर्न पाइँदैन ।’ उनले बल गरेर भित्रतिर हेर्दा आजादलाई चारै हातखुट्टा बाँधेर लडाइराखेको हुन्छ ।

१२ गते दिनको ४ बजेतिर

एक जना प्रत्यक्षदर्शी वर्णन गर्छन्, ‘जनकपुरतिरबाट एउटा जीप बडो छिटोछिटो दौडिँदै आइरहेको छ । भित्र खचाखच मानिस छन् । सबै सादा पोशाकमा छन् र अघिल्लो सिटमा बसेको एसपी रणबहादुर चन्दलाई प्रस्ट चिन्दछु । त्यो जीप बजारमा रोकिँदैन । सरासर चौकितिर हुर्रिंदै जान्छ । चौकीनजिक गएर जीप रोकिन्छ । केही क्षणपछि १/२ जना मानिसलाई छोडेर सबै मानिस सरकारी पोशाकमा उत्रिन्छन् । धेरैजसोको हातमा राइफल हुन्छ । हतियार बोकेका पुलिसहरू तुरुन्तै चौकीलाई चारैतिरबाट घेर्छन् । एसपी थपरर्‍याङमाथि चढ्छ ।’

उही दिन साँझ ६ बजेतिर सिन्धुलीतिरबाट एउटा जीप आइरहेको देखिन्छ । नजिकै आएपछि हेर्दा सीडीओ आइरहेको स्पष्ट हुन्छ । जीप भिमानतिर गयो । भिमानतिर गएको पौने आधा घण्टाजति भएको हुँदो हो, जीप सीडीओसहित नै फर्कियो,’ एक व्यक्ति आफ्नै आँखाले देखेको बताउँछन् ।

भिमान बजारलगायत बाटोको छेउछाउका सबै जनता घटनाक्रमबारे सचेत छन् । उनीहरू हरघडी आँखा र कानलाई सतर्क गराएर बाटोतर्फ हेरिरहेका छन् । रात बढ्दै जान्छ । मानिसहरू चिन्तित हुँदै सुत्न थाल्छन् । तर, केही मानिसहरू रातभरि नसुतेर निगरानीको दृढताले बाटोतिरै हेरिरहेका हुन्छन् ।

यस्तैमा एक जना मानिसद्वारा प्राप्त विवरण

‘समय रातको १२ः३० भएको थियो । चौकीतिरबाट एउटा जीप बिस्तारै आयो । निकै नजिक आएपछि देखियो– चार जना मानिस जीपलाई पछाडिबाट घँचेढ्दैछन् । बिस्तार–बिस्तार भ्याट–भ्याटको आवाज जीपबाट निस्कँदैछ । केही अगाडि आएर जीप रोकिन्छ । पुलिसहरूभित्र दुवैतिर बन्दुक लिएर बसेका देखिन्छन् । अरु केही देखिन्न । फेरि ठेल्दै जीपलाई अघि लगिन्छ । जीप घँचेढ्ने मानिसभन्दा केही पछाडि ४–५ जना मानिस बिस्तारै हिँडिरहेका छन् । एउटा गोविन्दलाई प्रस्ट चिन्छु (कुख्यात दलाल गोविन्द कोइराला) । झण्डै २ मिनेटजतिमा जीप खोला झर्छ ।’

खोला झरेको केही समयपछि अर्को प्रत्यक्षदर्शीको बयान

‘जीप गएको केही समयपछि ५–७ जना मानिस गुनगुन कुरा गर्दै मोटर हिँड्ने बाटोबाट हिँडिरहेको देख्छु । जीप भिमान खोला र भलुवाई खोलाको दोभानमा गएर रोकिन्छ । मानिसहरू जीपलाई त्यहीँ भेट्छन् । त्यहाँबाट गाडी फेरि बिस्तारै हिँडेको देखिन्छ । बत्ती बालेको हुन्न । जीप गएको आधा घण्टाजति भएको हुँदो हो, बन्दुक पड्केको मध्यम आवाज सुनियो । पहिलो आवाजको ५–७ मिनेटपछि फेरि अर्को आवाज आयो, फेरि चकमन्न भयो । अन्य कुनै किसिमको संकेत पाइएन ।’

१३ गते बिहान

६–७ बजेतिर दलालहरू गोविन्द कोइराला, नरनाथ कोइराला, झलकबहादुर र अरु (प्रस्ट नाउँ थाहा पाउन नसकिएको) मोटरको बाटैबाटो एकअर्कालाई अंकमाल गर्दै लट्ठारिँदै आएको केही मानिसले प्रस्टै देख्छन् ।

उही दिन दिउँसो ४ बजेतिर

स्कुलबाट फर्किंदै गरेका एक हुल केटाकेटीहरू बाँसखोला र भिमान खोलाको दोभानमा बाटोबाट ५०–६० हात टाढा मुढा बालेको थुप्रो देख्दा तर्सन्छन् र त्यस ठाउँमा जाने आँटै गर्दैनन् ।

केटाकेटीहरूबाट यो कुरा थाहा पाएपछि जानेहरू त्यहाँ पुग्दा आगो ननिभिसकेको र थुप्रै स–साना हड्डीका टुक्राहरू पाउँछन् । खाल्डोजस्तो लाग्ने ठाउँमा खनी हेर्दा जति गहिरिँदै गयो, त्यति ठूला रगतका फाल्सा पाइन्छन् । पहिलो खाल्डोको नजिकै अर्को खाल्डो हुन्छ । यसरी जनसमुदायहरू, एक जना क्रान्तिकारीको कायरतापूर्ण हत्या भएको क्रूर यथार्थलाई बडो दुःख र आक्रोशमा डुब्दै स्वीकार्न बाध्य हुन्छन् ।