पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये २ जना पत्रकार पनि रहेको खुलेकाे छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कम्तिमा चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
उनले भने, ‘चार जना पत्रकारलाई कोरोना संक्रमण देखिएको हो। अन्यमा पनि देखिएको हुनसक्ने अनुमान छ।’
यता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले भने संक्रमितमध्ये २ जना पत्रकार भएको खुलेको र अरुको नाम ठेगाना खोजी गर्ने काम भइरहेको जानकारी दिए ।
यसैबीच नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई सुरक्षित भएर काम गर्न पुर्न अपील गरेको छ । महासचिव रमेश विष्टले एक विज्ञप्ती जारीगर्दै बीरगञ्जमा २ जना पत्रकार कोरोनाबाट संक्रमित भएकोमा दुःखित भएको जनाएको छ ।
विज्ञप्तीको पूर्ण पाठः
मितिः २०७७।०१।३०
प्रेस विज्ञप्ति
कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेको सञ्चार क्षेत्र पनि यतिखेर कोरोना भाइसरबाट प्रभावित हुन पुगेको खवरले नेपाल पत्रकार महासंघ अत्यन्त दुःखी र चिन्तित भएको छ ।
आज सरकारले घोषणा गरेका ५७ जना कोरोना भाइरस संक्रमितमध्ये कम्तिमा दुई जना पत्रकार संक्रमित हुन पुगेका छन् भने अन्य पत्रकारको स्वास्थ्य परीक्षण भैरहेको छ । यो संवेदनशील घडीमा सीमित स्रोत, साधन र अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ । महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ ।
साथै, कोरोना सक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गर्दछ ।
रमेश विष्ट
महासचिव