सिन्धुली: पत्रकारिता क्षेत्रमा राम्ररी जमेका भक्त स्याङ्तानको आख्यानकृति डम्फुको आत्मलापमाथि सिन्धुलीमाढीमा शनिबार परिचर्चा गरिएको छ ।
समालोचक भीम बिक्रम थापाले आख्यानकृति डम्फूको आत्मलापमा कथावस्तु, परिवेश, भाषाका हिसावले स्थानीयता र कथ्य भाषाको प्रयोग भएको बताउनुभयो ।
उहाँले कृति सामाजिक यथार्थवादी र प्रगतिवादी धारलाई लिएर गुरूप्रसाद मैनालीको कथाशैली पछ्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कृतिमा तामाङ संस्कृति र तिनका जीवनका अनुरागहरु छन् । बिद्रोही चेत, जनयुद्धको झल्को र भविश्यको सपना एवम् देशभक्ति र वर्गीय द्वन्द्व छ, सरले समाज परिवर्तनका लागि भूमिका खेल्नेछ ।”
उहाँले आख्यानमा घटना र चरित्रप्रदान कथा रहेको र मिथकको प्रयोगका साथै ग्रामीण तथा शहरी परिवेश र बालमनोविज्ञान रहेको बताउनुभयो । सुनकोशी, रोशी, मरिण र महाभारतका आफ्नै परिवेशले कथालाई सत्यसँग नजिकमात्रै बनाएको छैन, त्यसले सिन्धुलीको साहित्य क्षेत्रलाई पनि माथि उठाउने काम गरेको छ, थापाले अगाडि भन्नुभयो ।
विश्लेषक विश्वनाथ बरालले भक्तको कथामा समाज, संंस्कृति र इतिहासका घटनाहरु नजिक रहेको चर्चा गर्दै यो इतिहासका विद्यार्थीहरुका लागि पनि एउटा गतिलो अध्ययन सामाग्री भएको बताउनुभयो ।
उहाँले कथाको प्रस्तुति कवितात्मक, पत्रात्मक एवम् नाटकीय जस्ता लागेपनि अहिलेको अबस्थामा तामाङ भापा, संस्कृति र सभ्यताको बिषयमा जानकारी दिने पहिलो पूस्तकका रुपमा रहको बताउनुभयो ।
‘डम्फुको आत्मालापले तामाङ समुदायको मात्रै प्रतिनिधित्व गरेको छैन, त्यसले अहिले शहर तथा ग्रामिण समुदायमा बढ्दै गएको विदेश मोह र घरहरु बृद्धाश्रममा परिणत हुन थालेको’ अहिलेको कारुणिक चित्र प्राध्यापन कार्यमा संलग्न नवराज थिङले समकालीन समाजको दर्पणका रुपमा साहित्य रहने चर्चा गर्दै धर्म, संस्कृति, परम्परा र इतिहासका विविध पक्षलाई कथामा समेटिएको बताउनुभयो ।
प्रत्येक कथाको अन्त्यमा तामाङ भाषामा प्रयोग हुने शब्दहरूको सरल रूपमा व्याख्या गरिएकाले सबै भाषाभाषिका पाठकका लागि कृति पठनीय बन्न पुगेको उहाँको भनाई थियो । सबै कथामा सरल भाषाको प्रयोग गरिएको छ । शुद्धाशुद्धीमा विशेष ध्यान दिइएको छ । मानवीय संवेदनाले भरिएका वियोगान्त कथाका केही हरफहरूले पाठकलाई रुवाउनेसम्मको ल्याकत राखेको छ, उहाँले टिप्पणी गर्नुभयो । त्यसैले होला साहित्यकार खगेन्द्र संग्रौलाले कृतिको अन्त्यमा लेखेका छन्, ‘वियोगान्तको विषादले पाठकको मानसमा पैदा गर्ने मार्मिक अनुभूतिमा यी कथाहरू स्मरणीय रहनेछन्’ ।
राजनीतिज्ञ सुरत स्याङ्तानले कथावस्तु यथार्थ रहेको चर्चा गर्दै राजनीतिक कोणबाट समेत कृतिको चर्चा गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः कथा नेपाली सत्ता राजनीतिले पारेको नकारात्मक प्रभाव र जनतमा बढ्दै गएको निराशालाई सरल तरिकाले उतारिएको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुली शाखा सभापति कृष्णहरि घिमिरेले पाठकका हिसावले आख्यान कृतिमा नेपाली समाज र त्यसमा पनि ग्रामिण समुदायको चित्रण गज्जब पाइएको बताउनुभयो । उहाँले भन्नुभयोः तामाङ समुदायको मौलिक परम्परा तथा संस्कृति वर्णित यस कृतिका कथाले प्रेम र विछोडका अनुपम गाथा चित्रण गरेका छन् ।
कथाकार स्याङ्तानले कथाको रहस्योद्घाटनका लागि प्रायः सबैजसो कथामा चिठीको प्रयोग गरेका छन् जुन किञ्चित अस्वाभाविक लाग्दैन । ‘फ्ल्यास ब्याक’को प्रस्तुतिले कथाहरूलाई थप रोचक बनाएका छन् । एकैपटकको पढाइमा कथाको सबै सिलसिलाबद्ध कहानी याद नहुन पनि सक्छ । त्यसैले पाठक एउटै कथा पटकपटक पढ्न बाध्य हुन सक्छन् घिमिरेले भन्नुभयो ।
जनसेवा पुस्तकालयद्वारा आयोजित कार्यव्रmममा कृष्णप्रसाद गौतम, मधुसुदन दाहाल, टंकध्वज थापाले कृतिमाथि चर्चा गर्नुभएको थियो ।
सिन्धुलीको कुसुमटार निवासी लेखक भक्त स्याङतानले बाल्यकालका गाउँका भोगाई, परिवेशले लेखनीमा हुटहुटी जगाएको बताउनुभयो ।
पत्रकारितामा स्थापित भइसकेका स्याङ्तानले आख्यान मार्फत अन्ततः वास्तविक साहित्यमा पनि जबर्जस्त प्रवेश पाएका छन् । केही समय अगाडि सार्वजनिक पहिलो कृति ‘डम्फुको आत्मलाप’मा स्याङ्तानले आफ्नै परिवेशका कथाहरू प्रस्तुत गरेर कथाकारको रुपमा उदाएका हुन् ।
तामाङ समुदायको विषयमा केन्द्रित रहेर लेखिएको उक्त पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो। पुस्तकमा लुङ्दर, छ्योर्तेन, न्होरला, छेदिङमो, जलजला, म्लाङगैको आपा, पेम्बाको कथा, दलुचा, डम्फुको आत्मालाप, याम्बुमा लाक्पाको संघर्ष, बुट्टे गलबन्दी शीर्षकका ११ कथा समेटिएका छन्।