सिन्धुलीबाट राजधानी काठमाडौ लगायत पहाडी जिल्ला रामेछाप, दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोक तर्फ सामान ढुवानी गर्ने मालवहाक सवारी साधानलाई सडकको क्षमता भन्दा बढी मालसामान ढुवानी गर्न सिन्धुली प्रहरीले छुट दिएको छ ।
कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवास स्थित भार मापन केन्द्र (धर्मकाँटा) गर्न आवश्यक नभएको भन्दै प्रहरी चौकी ढुंग्रेवासले माथिको आदेश भन्दै बढी ओभरलोड भएका मालवहाक सवारीसाधानलाई निरन्तर जान दिइरहेको तथ्य खुलेको छ । ढुंग्रेवास प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक लक्ष्मण गोले बिहिवार साँझ आफैं बसेर काँटा नगरि गएपनि हुन्छ भन्दै ओभरलोड गरिएका ट्रकहरु पठाइएको बिबरण प्राप्त भएको छ ।
जवकी साँधुरो र घुम्ती बिपी राजमार्गको सडकको क्षमता १६ हजार २ सय केजी मात्रै रहेकोमा मिलेमतोमा २२ हजार केजीसम्म ट्रकहरुले सामान बोक्न थालेको यातायात व्यवसायीहरुले बताउन थालेकाछन् । सिन्धुलीमा भार मापन गरिरहेका यातायात व्यवसायी दीपक दाहाल भन्छन्ः बिहिवारसाँझबाट बिना काँटा मालवहाक सवारी साधनहरु गइरहेको देखेका छौं, तर त्यसलाई रोक्ने काम प्रहरीबाट भएन बरु काँटा नगरि गएपनि हुन्छ भनेको देखियो ।
प्राप्त बिबरणमा विपी राजमार्गको क्षमता भन्दा बढी भारका मालवहाक सवारी साधन काँटा काँटा नगरी पठाउने र त्यस बापत प्रहरी आफैंले प्रति सवारीसाधन एक सय देखी १ सय ५० रुपैयाँसम्म रकम असुली गर्न थालेको छ ।
प्रहरी स्रोतका अनुसार एसपी रमेश सिलवालका प्रिय मान्छेका रुपमा सिन्धुली प्रहरीमा चिनिएका ढुंग्रेवास प्रहरी चौकीका सई गोलेले असुली कार्यको नेतृत्व गरिरहेका छन् । स्रोत अगाडि भन्छः ओभरलोड गाडीलाई रोक्न खोज्ने ट्राफिक प्रहरीलाई सई गोलेले हप्काउँदै त्यहाँबाट हटाउने गरेकाछन् । सन्देश जनप्रियले सई गोलेसँग पटक पटक सम्पर्क गर्न खोज्दा हुन सकेन ।
गएको दशैं र तिहारमा यात्रुहरुसँग बढी भाडा असुलेका यातायात व्यवसायीसँग नजिक देखिएको प्रहरी प्रशासनले विपी राजमार्गको क्षमता भन्दा बढी बोक्न नपाउने सरकारी मापदण्डलाई लत्याउँदै काँटा (वेट) नगरी मालसामान लैजान दिएपछि बिपी राजमार्ग जोखिममा परेको छ । यो समाचार बुधवारको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ प्रकाशन गरेको छ ।