सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल सम्बृद्धिको मूल आधारः कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगार भन्ने मूल नाराका साथ आजबाट लगानी सम्मेलन सुरु भएको छ ।
पालिका अध्यक्ष पार्वती सुनुवार र प्रतिनिधीसभा सदस्य श्याम घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फिक्कल गाउँपालिकामा लगानी मैत्री वातावरण सिर्जना गरिएको घोषणा गरिएको छ । लगानी सम्मेलनलाई सम्बोधनगर्दै प्रमुख अतिथी घिमिरेले आफ्नो तर्फबाट फिक्कलको सम्बृद्धिका लागि सक्दो सहयोग गर्ने बताएकाछन् । उनले मूलुकमा लगानी मैत्री वातावरण नभएको भएपनि फिक्कल गाउँपालिकाले हिम्मतका साथ लगानीसम्मेलन गरेर लगानीकर्ताहरुको ध्यान आकर्षित गरेको बताए । नेकपा एमालेका नेता एवम् वागमती प्रदेशका पूर्व मन्त्री प्रदीप कटुवालले फिक्कल गाउँपालिकाको सम्बृद्धिका लागि तत्कालिन डोरमणी पौडेल नेतृत्वको सरकारले काम अगाडि बढाएपनि अहिलेको सरकारले बिनियोजित योजनाहरु कटौती गरेर सम्बृद्धिको मार्गमा अबरोध गरेको बताए ।

उनले नेकपा एमालेले मध्यपहाडी क्षेत्रका नागरिकमा समस्यै समस्या भएकाले बसाईसराई जस्ता समस्याहरु सिर्जना भएपनि बैकल्पिक राजमार्गका रुपमा मध्यपाहाडी पुष्पलाल राजमार्ग निर्माणको काम अगाडि बढाएको र यसै क्षेत्रलाई एमालेले महत्वका साथ आफ्ना गतिविधी पनि गरिरहेको खुलासा गरे । उनले भोलीबाट १ हजार ८ सय ७९ किलोमिटर लम्बे अभियान दार्चुला जिल्लाको झुलाघाटबाट अध्यक्ष केपी ओलीले प्रारंभ गर्नुहुने बताउँदै नेता कटुवालले त्यो अभियान अन्र्तगत सिन्धुलीको खुर्कोटमा जनसभाको आयोजना गरिने र उक्त कार्यक्रममा ओलीले सम्बोधन गर्ने बताए । हाम्रो पार्टीको अध्यपहाडी अभियान यस क्षेत्रको सम्बृद्धिका लागि भएको समेत उनले बताएका थिए ।
कार्यक्रममा पूर्व मन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडीले अहिले मुलुकको अर्थतन्त्र जटिल अबस्थामा रहेका बेला फिक्कल गाउँपालिकाले लगानी सम्मेलन गर्नु सकारत्मक भएको बताए । सोही पालिका निवासी नेता पहाडीले अहिले देशमा लगानीमैत्री अबस्था नरहेको र बर्तमान सरकारले उद्योगी व्यवसायीहरुलाई त्रसित बनाइरहेको बताएका थिए । सबैतिर चरम निराशा र आक्रोस भएका बेला आयोजना गरिएको लगानी सम्मेलनले फिक्कलमा लगानी मैत्री वातावरण बनाउन भूमिका खेल्ने र उद्योगी व्यवसायीहरु आकर्षित हुने बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रामकुमार पहाडीलगायतले सम्बोधन गरेका थिए । गाउँपालिका उपाध्यक्ष राजु बरालको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार बद्री पंगेनीलगायतले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रम स्थलमा गाउँपालिका र सिन्धुली सामूहिक सरोकार समाज र हेफर इन्टरनेशनलको प्राविधिक सहयोगमा स्थानीय किसानहरुले उत्पादन गरेका कृषि उपज राखिएको थियो भने भित्ताहरुमा कृषि उत्पादनका दृश्यहरु टाँसिएका थिए ।
फोटो फिचर
















