सिन्धुली: नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक कोषाध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णप्रसाद गौतमलाई यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता प्रखान गरिएको छ । २० औं विशाल–कुमार स्मृति दिवसको अवसरमा बरिष्ठ पत्रकार गौतम सम्मानित हुनु भएको हो । नेकपा (एमाले) जिल्ला अध्यक्ष रामकुमार कार्कीको अध्यक्षता एवम् नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रतिष्ठानका संरक्षक मनोजजंग थापाको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा पत्रकारिता मार्फत राजनैतिक तथा सामाजिक आन्दोलनलाई जनपक्षीय पत्रकारिता मार्फत समाजमा उल्लेखनीय योगदान दिएको भन्दै उहाँलाई विशाल–कुमार स्मृति प्रतिष्ठान सिन्धुलीले ५ हजार नगद सहित सम्मान गरेको हो ।
पत्रकार गौतमलाई नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं विशाल कुमार स्मृति प्रतिष्ठानका संरक्षक मनोजजंग थापाले दोसल्ला ओढाउँदै प्रमाण पत्र र नगद पाँच हजार रुपैंया प्रदान गर्नु भएको थियो ।
विशाल कुमार स्मृति प्रतिष्ठानले हरेक वर्ष एक जना जनपक्षीय पत्रकारलाई स्मृति दिवसको अवसरमा सम्मान र पुरस्कृतगर्दै आएको छ ।
तत्कालिन माओवादीका केन्द्रीय सदस्य शेरमान कुँवर ‘विशाल’ र वैकल्पिक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम ‘कुमार’ लाई सिरहा जिल्लाको धन्छवारमा तत्कालिन नेपाली सेनाद्वारा नियन्त्रणमा लिई आजकै दिन अर्थात भदौ २० गते गोलीहानी बिभत्स हत्या गरेको थियो ।
स्मृति कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले बिशाल कुमारले देखाउनु भएको बाटोबाट नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढिरहेको र त्यसको नेतृत्व अहिले केपी ओलीले गरिरहनु भएको बताउनुभयो । उहाँले भन्नुभयोः कमरेड पुष्पलाल, मदन भण्डारी र केपी ओली नेपाली कम्युनिष्ट आन्दोलनको एउटै पाटो भएको र एमाले मात्रै नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रुपमा अगाडि बढिरहेको छ ।
नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकतापछि बनेको नेकपाको निरन्तरताको रुपमा रहेका हजारौं माओवादी नेता कार्यकर्ताहरु अहिलेपनि एमालेमा रहेको बताउँदै जनयुद्ध र जनआन्दोलनको बलमा भएको परिवर्तनलाई आत्मसात गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएकैले जनयुद्ध लडेका इमान्दार निष्ठान नेता र्काकर्ताहरु अहिले सो पार्टी छोडेर एमालेमा समाहित भइरहेको बताउँदै भगौडाहरु मात्रै माओवादी केन्द्रमा बाँकी रहेको खुलासा गर्नुभयो ।
उहाँले सिन्धुलीका माओवादी नेता कहलिएका सांसद राजन दाहाल भगौडा भएको दाबीगर्दै जनयुद्ध लडेका नेताहरु अहिले सिन्धुली माओवादीमा नरहेको बताउनुभयो ।

एमाले प्रदेश कमिटी सदस्य प्रदिप कटुवालले सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण सहयोग पु¥याएको स्मरणगर्दै उहाँलाई सिन्धुलीका कम्युनिष्टहरुले स्मरण गर्न जरुरी रहेको बताउनुभयो ।

एमाले जिल्ला अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार)ले नेपाली कम्युनिस्ट आन्दोलनमा विशाल कुमारले पु¥याउनु भएको योगदानको चर्चा गर्दै उहाँहरूलाई कम्युनिष्टहरुले सदैव उच्च सम्मान गरिरहने बताउनु भएको थियो ।
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले शेरमान कुँवरसँग आफ्नो पुरानो भेटको स्मरण सुनाउँदै कम्युनिष्टहरुले उहाँबाट सिक्ने धेरै कुराहरु रहेको र उहाँको जीवन शैली र व्यवहारलाई अनुशरण गर्न जरुरी रहेको बताउनुभयो ।

सिरहाको चोहर्वा स्थित सेनाको पूर्वी पृतनाका तत्कालिन प्रमुख कर्णेल बाबुकृष्ण कार्कीले घटना अनुगमन गर्न गएका मानवअधिकारीकर्मीहरुसँग भनेका थिएः ‘उनीहरुलाई पक्राउ गरेर राख्न सकिन्थ्यो, तर मेरा केटाहरुले धेरै दुःख पाउने भएकाले कारबाही गरे ।’ यो भनाई उल्लेख भएको अधिकारवादी संस्था हिमराइट्सले बुझाएको गैर न्यायिक हत्या सम्बन्धी स्थलगत अध्ययन प्रतिवेदन राष्ट्रिय मानवअधिकार आयोगमा रहेको एक आयुक्तले सन्देश जनप्रियलाई बताए । उनका अनुसार माओवादी नेताहरुको नियन्त्रणमा लिएर गरिएको हत्या सम्बन्धी यो घटनालाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपाल स्थित कार्यालयले पनि रिपोर्ट गरेको थियो ।
को हुन् कृष्ण गौतम !
२०४६ सालदेखी पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएका कृष्ण गौतम तत्कालिन एकता केन्द्र–मसाल, जनमोर्चा नेपालसँग निकट रहनुहुन्थ्यो भने पञ्चायत विरोधी राजनैतिक गतिविधीको सिन्धुलीबाट केन्द्रमा रिपोर्टिङ गर्नु हुन्थ्यो । त्यसपछि एकताकेन्द्र मसालको बिभाजनपछि गिरिराजमणी पोखरेलको सम्पादनमा प्रकाशन भएको जनएकता साप्ताहिकमा सिन्धुली जिल्लाका राजनैतिक तथा सामाजिक आन्दोलनका समाचारहरु लेख्दै आउनुभएको थियो ।
उहाँले जनएकता बन्द भएपछि केही समय आफैंले सन्देश जनप्रिय साप्ताहिक पत्रिका प्रकाशन गर्नुभयो । अहिले सोही अखबारको प्रधान सम्पादक रहनुभएका गौतम नियमित रुपमा राजनैतिक तथा सामाजिक विषयमा तिखो प्रहारगर्दै आर्टिकल लेखिरहनु भएको छ ।
नेपाली कम्युनिष्टहरुको मूल प्रवाहको रुपमा एमाले देखापर्न थालेको बताउनु हुने बरिष्ठ पत्रकार गौतम आफ्नो इतिहासलाई बुझेर प्रतिष्ठानले सम्मानित गरेकोमा खुशी व्यक्त गर्नुहुन्छ । अबको पार्टीको बुढाहरुले होइन, युवाहरुले गर्नु पर्छ र त्यो पनि एक पटक मात्रै । कम्युनिष्ट पार्टीहरुले अबसर समानूपातिक रुपमा बितरण गर्न नसक्दा समस्यामा परेको बताउँदै कम्युनिष्ट पार्टीको सिद्धान्त र आचारणलाई कडाईका साथ लागु गर्न नेताहरुलाई सुझाउनु भएको थियो ।