सिन्धुलीः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशै भरि एकै पटक आजबाट थालेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ जिल्ला सदरमुकाम सिन्धुलीमा पनि शनिवार विहानैबाट महेश्वर दाहालले सुरु गरेका छन् ।
माओवादीका प्रभावशाली नेता दाहाललाई अभियानका क्रममा सिन्धुलीको कमलामाई नगरपालिकामा खटाएसँगै अभियानको थालनी गरेका हुन् । रचनात्मक कार्य गरेर जनताको घर घरमा माओवादी पुग्ने अभियान अन्तरगत नगरका वडाबाट विभिन्न रचनात्मक कार्यक्रम थालनी गरिएको हो ।
सिन्धुलीमा कमलामाई नगरपालिका वडा नं. ६ वडा कमिटिले आयोजना गरेको कार्यक्रमको शुभारंभ केन्द्रीय नेता दाहालले खुल्लमञ्च, र बसपार्क सरसफाई गरेर अभियान सुरुवात गरेका थिए । सिन्धुली सदरमुकामको केन्द्र कमलामाई नगरपालिकाबाट थालिएको अभियानले सकारात्मक सन्देश दिएको अरुण शर्माले बताए । उनले सरसफाई अभियानबाट माओवादी केन्द्र रुपान्तरण हुन खोजिरहेको दाबी गरे । सरसफाई अभियानमा सामेल रहेका शर्माले नयाँ नेतृत्व आएसँगै पार्टीमा उत्साह थपिएको सुनाएका थिए ।
२५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गर्न लागेको हो । अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गरेका थिए ।

गतसाता माओवादीका उपमहासचिव हरिवोल गजुरेलले कमलामाई नगरपालिकामा पार्टी बिग्रिएकाले बिग्रिएको पार्टी बनाउन महेश्वर दाहालसँगै आफुपनि आएको बताएका थिए ।
सिन्धुलीको ७९ वटा वडामा विभिन्न कार्यक्रम गरेर अभियानको थालनी गरिएको माओवादी सिन्धुलीका जिल्ला संयोजक पानीराज बम्जनले प्रदेशखबरलाई जानकारी दिए ।

