पार्टीलाई एक नम्बरको शक्ति बनाउन ‘आशंका र तुष्टि होइन, विश्वास, समर्पण र सन्तुष्टि’ हुनुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को हालै सम्पन्न चौथो पूर्ण बैठकले तय गरेको तीन महिने पार्टी रुपान्तरण अभियानअन्तर्गत मलाई सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका इन्चार्ज तोकेको छ । केन्द्रीय कार्यदिशा लागू गर्ने यो ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन हुनेछ । र, त्यसको तयारीका लागि पार्टीको सिन्धुली जिल्ला समितिले अन्तरक्रियात्मक बैठक समेत सम्पन्न गरेको छ । नगर इन्चार्जको जिम्मेवारी पाउनु र स्वयं सिन्धुलीबासी हुनुका नाताले मैले पनि त्यस बैठकमा आफ्नो उपस्थिति र विचार दर्ज गरेको छु।

केन्द्रीय अभियानले पार्टीको सबैभन्दा तल्लो इकाइ वडा कमिटीलाई सुदृढ गर्न प्राथमिकता दिएको छ ।आधारभूत र मेहनेती जनता रहेको वडालाई सुदृढ गरेर नै पार्टी सुदृढ हुने हो । हरेक पार्टी सदस्यले ‘मेरो वडालाई सबैभन्दा शक्तिशाली बनाउँछु’ भनेर सक्रियतापूर्वक लाग्ने हो भने सिन्धुलीमा फेरि पनि माओवादी केन्द्र एक नम्बर शक्तिको रुपमा पुनर्स्थापित हुनेछ । तर,यसका लागि हामीसँग आशंका र तुष्टि होइन, विश्वास, समर्पण र सन्तुष्टि हुनुपर्छ ।    

सबभन्दा पहिला त माओवादी केन्द्रका हरेक नेता, कार्यकर्ता र सदस्यले जनसेवकको रुपमा आफ्नो पहिचान स्थापित गर्नुपर्छ। हाम्रो सदैवको संकल्प के हो भने व्यक्तिगत प्राथमिकता भन्दा देशको समृद्धि ठूलो हो । त्यसका लागि सामाजिक न्यायसहित गुणात्मक आर्थिक विकासको जनहितको राजनीतिसँग समाजलाई हामीले नै बलियोसँग जोड्न सक्नुपर्छ । सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका लागि जनदवाव सिर्जनासँगै पार्टी शुद्धीकरण र सुदृढीकरण समेत यो अभियानको अभिन्न लक्ष्य हो ।

सिन्धुलीवासीको संघर्षगाथा देशकै गौरवका रूपमा इतिहास र वर्तमानमा स्थापित छ । नेपाल एकीकरणको भीषण संघर्षमा र त्यसपछिका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका संघर्षमा यहाँका जनताको उदाहरणीय योगदान छ । यसलाई हामीले नै सबैतिर अझ व्यापक रूपमा स्थापित गर्नुपर्नेछ । सिन्धुली जिल्लाको संघर्ष गाथालाई मुख्यतः चार भागमा हेर्न सकिन्छ ।

एक, अंग्रेजसँगको संघर्ष । दुई, लोकतान्त्रिक आन्दोलनको नेतृत्व । तीन, क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको निर्माण । र, चार, जनयुद्धमा अग्रणी भूमिका ।

इष्ट इन्डिया कम्पनीको रूपमा पूरै भारत वर्षलाई कब्जा गरेको अंग्रेजसँगको संघर्षमा सिन्धुली मोर्चा कमजोर बनेको हुन्थ्यो भने नेपाली भूगोल र इतिहास आजको अवस्थामा हुँदैन थियो । यो इतिहासको गौरव र विरासतलाई हामीले नै सही अर्थमा पक्रनुपर्छ । राष्ट्रिय स्वाधीनताको आन्दोलनमा अग्रमोर्चामा रहनु पर्छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी कृष्णप्रसाद कोइराला सिन्धुलीकै हुन् । उनका तीन छोरा मातृका प्रसाद कोइराला, वीपी कोइराला र गिरिजा प्रसाद कोइराला प्रजातान्त्रिक/ लोकतान्त्रिक/गणतान्त्रिक आन्दोलन सम्पन्न गरेर नै प्रधानमन्त्री भए । आफन्त सुशील कोइराला आजको संघीय लोकतान्त्रिक गणतन्त्र संविधान जारी गर्ने चरणका प्रधानमन्त्री हुन । लोकतान्त्रिक आन्दोलनमा लागेकाहरूलाई सम्मान गरेर नै हामी इतिहासका, वर्तमानका र हरेक परिवेशका सम्पूर्ण जनअधिकार आन्दोलनको अपनत्व लिन सक्छौं।

सिन्धुलीमा ऋषि देवकोटा ‘आजाद’, सीपी गजुरेल, मोहन घिमिरे, ठगेन्द्र घिमिरे, रामेश्वर कोइराला, भुवन चौलागाईसहितको समूहले नै क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, आन्दोलनका लागि जनसंगठनको जग बसालेको, पहलकदमी लिएको हो । २०२३ सालदेखि शुरु भएको त्यो सिलसिला २०२८ को झापा विद्रोह र २०२९ को केन्द्रीय न्युक्लसको परख गर्दै अन्ततः चौथो महाधिवेशनसम्मको क्रान्तिकारी विकासमा पुग्यो । २०३२ सालबाट वर्गसंघर्ष सुरु भएसँगै सिन्धुलीका थुप्रै नेता तथा कार्यकर्ताहरु लामो समय जेल र भूमिगत बस्नुपर्यो । वर्गसंघर्षकै क्रममा ऋषि देवकोटा ‘आजाद’ दुर्गा सुवेदी र दलबहादुर रजन मगरहरूले सहादत हुनुपर्यो । उनीहरूले निर्माण गरेको त्यस आधारभूमितिर, उनीहरूले टेकेको घरदैलोतिर हामी फेरि पुग्नैपर्नेछ ।

ईश्वरी दाहालले २०४३ सालमा जिल्ला अदालत सिन्धुलीको इजलासमा उभिएर आफूले राजतन्त्र नमान्ने उद्घोष गर्नुभएको थियो । निरंकुश राजतन्त्रको त्यो समयमा अदालतको इजलाशमा उभिएर, जीवनलाई जोखिममा राखेर त्यो ढंगले वयान दिने सम्भवतः उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई त्यसअघि र पछि पनि जेल, कालकोठरीमा राख्यो । त्यसअघि संसदमा गणतन्त्रको पक्षमा रामराजाप्रसाद सिंहले बोल्ने साहस गर्नुभएको थियो ।

तत्कालीन नेकपा (माओवादी) ले २०५२ सालमा शुरु गरेको जनयुद्धमा सिन्धुली, रूकुम, रोल्पा र गोरखा जस्ता जिल्लाले नै आधारभूमिको काम गरेका थिए । नेतृत्व गरेका थिए । पूर्वका धेरै ठाउँमा वैचारिक, संगठनात्मक, फौजी नेतृत्व सिन्धुलीले नै निर्माण गर्यो ।

महेन्द्र श्रेष्ठ, शेरमान कुँवर, मोहनचन्द्र गौतम, कमल देवकोटा, खड्ग देवकोटा जस्ता सिन्धुलीका युगपुरुषहरूले हाँसी हाँसी आफूलाई सहादत गर्नुभयो ।सिन्धुलीका अर्का आदर्श युगपुरुष चित्रनारायण श्रेष्ठ अहिलेसम्म राज्यबाट बेपत्ता बनाइनु भएको छ ।  

शान्तिमान कार्की जस्ता कयौं जनपक्षीय एमालेहरूले आफूलाई कम्युनिष्ट आन्दोलनको मूलधार माओवादीमा समाहित गर्नुभयो । जनयुद्ध र जनसंघर्षकर्ता नेतृत्वका रूपमा हरिबोल गजुरेल, राम कार्की र लीलामणि पोखरेल जस्ता नेताको योगदान सिन्धुलीका लागि अविस्मरणीय छ।

हामीले वलिदान र संघर्षको सधैं सम्मान गर्नुपर्छ। चित्रनारायण श्रेष्ठकी जीवन संगिनी सावित्री श्रेष्ठजस्ता माओवादी आन्दोलनको चिन्ता गर्ने जनयोद्धाका परिवार र सबै ऐतिहासिक व्यक्तित्वहरूलाई हामीले किमार्थ भुल्नु हुँदैन।

सिन्धुली जस्तो क्रान्ति र ऐतिहासिक परिवर्तनको योगदान बोकेको जिल्लामा यावत संघर्षकारी विगतको अपनत्व लिंदै माओवादी केन्द्र जस्तो पार्टीले राजनीतिक एवम्  संगठनात्मक अगुवाइका लागि अब के गर्ने ?

एक, पार्टी संगठनसँग आवद्ध पूर्णकालीनहरू स्वाभिमानीपूर्वक बाँच्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान समेत पुर्याउन सामूहिक उत्पादनसँग जोडिने । जस्तैः कृषि उत्पादन, घरेलु तथा साना–मझौला उद्योग र व्यवसाय अगाडि बढाउन सहकारी वा सामुदायिक ‘मोडेल’ बनाएर लगानी, उत्पादन गुणस्तरीयता र बिक्री वितरणको अभियान नै चलाउने ।

दुई, पार्टीले तय गरेका राष्ट्रिय प्राथमिकता र स्थानीय स्तरमा आउने मौलिक सरोकारमा जनपक्षीय भएर सम्झौताहीन अभियान चलाउने । हाल प्रचण्डको नेतृत्वको सरकारले अगाडि सारेका सुशासन स्थापित गर्ने अभियानलाई जिल्ला र पालिका तहमा समेत उत्तिकै महत्व दिएर अभियान चलाउने ।

तीन, आफूूले जितेका पालिकाहरूमा जनजीविका, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा उदाहरणीय र सबैले चर्चा गर्न वाध्य हुनेगरी कामहरूको शुरुवात गर्ने । निःशुल्क र सुलभ आधारभूत शिक्षा तथा स्वास्थ्यको प्रत्याभूतिका लागि शैक्षिक एवम् स्वास्थ्य निकायको प्रभावकारी अनुगमन गर्ने । नयाँ योजना–परियोजना लागू गर्दा, छनौट गर्दा वा त्यसका लागि दबाब दिंदा आफ्नो स्वार्थ आग्रहबाट होइन बहुसंख्यक जनताको आवश्यकता आधारबाट प्रेरित हुने ।

चार, जमिनमा जोत्नेको वा कृषि मजदुरको हक स्थापित गर्ने ।

कम्युनिष्ट नारा आज बहुत अल्मलिएको अवस्थामा छ । कृषिको जति नै आधुनिकीकरण भयो भनिए पनि वास्तविक कृषि श्रमिकको हातमा जमिन छैन । जमिन्दारले जोत्नेको चर्को श्रम शोषण गरेका छन् । कमसेकम आफूले जितेका पालिकामा जमिनसँगै निर्भर तर जमिन नहुने किसान वा कृषि मजदुरको पहिचान गरी तिनलाई जमिनको हक दिलाउने अभियान शुरु गर्ने ।

तत्काल कुनै जमिन्दारलाई जमिनबाट बेदखल गर्न कानुनी संकट छ भने सिंचाइ संभावना समेत हेरेर सरकारी, पर्ती, उपयोग नभएका चौर, पर्यावरणलाई असर नपर्ने गरी वनको भनिएका तर खाली रहेका जमिन र लामो समयदेखि बाँझै राखिएका जमिन उपयोग गर्ने अभियान चलाउने । अलिकति शक्ति र अलिकति हस्तक्षेप यसले सिर्जना गर्छ तर यस्ता पेचिला सन्दर्भमा सफल नहुने हो भने माओवादी केन्द्र अरुभन्दा भिन्न हुनै सक्दैन । सुकुम्बासीलाई एक टुक्रा घडेरी दिंदैमा जमिनमा श्रम गर्नेको न्याय स्थापित हुन सक्दैन।

गति दुई प्रकारका हुन्छन । सचेत पहलकदमी र निरन्तरता । यथास्थितिमा रमाउने कि समाजवादको यात्रामा जाने रु माओवादी केन्द्र सिन्धुलीले यस अभियानकै क्रममा आफ्नो चिनारी स्थापित गर्नुपर्ने छ।