एमालेको चुनाव लक्षित भण्डाफोर अभियान शुरु, ओलीसहितका नेताहरु जिल्ला–जिल्लामा खटिए

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा लक्षित चुनावी अभियान अघि बढाएको छ । एमालेले सातै प्रदेशमा प्रशिक्षण सकेर जिल्ला–जिल्लामा नेता खटाएर प्रशिक्षणमार्फत चुनावी अभियानलाई तीब्रता दिएको हो ।

निर्वाचन आयोगले आगामी मंसीर ४ गते चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिश गरिसकेको छ भने सत्ता गठबन्धन दलका नेताहरुले पनि मंसीर ४ गते चुनाव हुने बताउँदै आएका छन । चुनावी बर्ष भएकोले एमालेले सत्ता गठबन्धनको भण्डाफोरसहित प्रशिक्षण चलाएर आफूले नपाए पार्टी उम्मेदवार हराउन लाग्ने पार्टीका नेता–कार्यकर्तालाई अव त्यस्ता नगर्न निर्देशनसहित प्रशिक्षण दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली आफै दैनिक नेता कार्यकर्ता भेटघाटदेखि चुनावी तयारीको बिषयमा छलफल तथा कार्यक्रममा सहभागी हुने क्रमलाई तीब्रता दिनुभएको छ । शनिवार मात्रै गृहजिल्ला झापाको चार दिने भ्रमण सकाएर उहाँ काठमाडौं फर्कनु भएको छ । उहाँ काठमाडौं फर्कैलगत्तै राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुभएको छ भने आज पार्टीका ३३ वटै केन्द्रीय बिभागका प्रमुख, उपप्रमुख र सचिवको बैठक राखेर निर्देशन दिनुभएको छ ।

एमालेले बरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष खटाएर सात वटै प्रदेशमा प्रशिक्षण सकाइसकेको छ । प्रदेशमा प्रशिक्षणको समन्वयका लागि प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेश प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, वागमती प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा उपाध्यक्ष सुवास नेम्वाङ, कर्णाली प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी तोकेको थियो ।

सोही जिम्मेवारीअनुसार सवै प्रदेशमा प्रशिक्षण सकाएर जिल्लामा प्रशिक्षण अभियान चलाइएको छ । प्रशिक्षणमा उपाध्यक्षका अलावा महासचिव शंकर पोखरेल, उपमहासचित्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र बिष्णु रिमालसमेत सहभागी हुनुभएको छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार प्रदेश प्रशिक्षण सकाएर हालसम्म दुई दर्जन जिल्लामा समेत प्रशिक्षण सकिएको छ । शुक्रवार र शनिवार महासचिव पोखरेल आफै स्यांजा र तनहुको प्रशिक्षणमा सहभागी हुनुभएको छ । यस्तै उपमहासचिव गुरुङ गृहजिल्ला लम्जुङको प्रशिक्षणमा सहभागी हुनुभएको छ भने अर्का उपमहासचिव रिमाल दोलखाको प्रशिक्षणमा सहभागी हुनुभएको छ ।

यस्तै सचिवहरु पनि प्रशिक्षण अभियानमा लाग्नुभएको छ । प्रशिक्षणको निश्कर्षका रुपमा एमालेले स्थानीय तहमा भएको अन्तर्घात दोहोरिन नदिने र एमालेको बिजयी अभियानलाई मूर्त रुप दिने रहेको छ ।